लकडाउन भएपछि नेपालमै अड्किएका आफ्ना नागरिकलाई अस्ट्रेलियाले तीन पटकसम्म विमान चार्टर गरेर स्वदेश फर्कायो। अस्ट्रेलियाका फिल्म निर्देशक कलानी गाकोन त्यही बेला आफ्नो जन्मभूमि फर्किन सक्थे। तर नेपालमै रहेर सामाजिक काममा उनी सक्रिय भए।
आर्थिक अभाव र समस्यामा परेका नेपालीलाई खाजा र सहयोग पुर्याउने काम गरे। लकडाउनका तिनै दृश्य क्यामरामा कैद गरिरहेका थिए।
करिब पाँच वर्षदेखि नेपाल बसेका कलानी नेपाली र तामाङ भाषा बुझ्छन्, बोल्छन्। नुवाकोटमा तामाङ परिवारसँग बस्ने उनलाई स्थानीयले 'रोहन लामा' नाम दिएका छन्।
'यो त मेरो दोस्रो घरजस्तै हो नि,' कलानीले सेतोपाटीसँग भने, 'यस्तो समस्याको समयमा कसरी भागेर जाऊँ? यहाँका दाजुभाइलाई सहयोग गर्नुपर्छ भन्ने लागेर पनि फर्किन चाहिनँ।'
तर अब उनले नचाहेर धर छैन। उनी नेपाल बस्न पाउने छैनन्। आफ्नै देश अस्ट्रेलिया जानुपर्नेछ। र, पाँच वर्षमा धेरैजसो समय नेपालमै बिताएका कलानी दुई वर्षसम्म नेपाल आउन पाउने छैनन्। उनलाई नेपाल सरकारले प्रतिबन्ध लगाएको छ।
गत हप्ता महामारी समयमा सरकारको भ्रष्टाचार र कोरोना परीक्षण लापरबाहीविरूद्ध युवाहरूले आन्दोलन गरेका थिए। कलानीका अनुसार उनी पनि माइतीघरमा भिडिओ खिच्न पुगेका थिए। उनीसहित छ विदेशीलाई प्रहरीले पक्राउ गर्यो। विदेशी भएर आन्दोलनमा सहभागी भएकोमा अध्यागमन विभागले दुई वर्षका लागि उनीहरूलाई नेपाल आउन रोक लगायो।
'विदेशीले नेपाल बस्दा यहाँको कानुन पालना गर्नुपर्छ। पर्यटक भिसामा आएको भए घुम्ने हो, वर्किङ भिसामा आएको भए काम गर्ने,' अध्यागमन विभागका सूचना अधिकारी राम चन्द्र तिवारीले भने, 'यो देशका नागरिकलाई पो आन्दोलनमा सहभागी हुने लोकतान्त्रिक अधिकार छ। विदेशीहरू सहभागी हुनुलाई राजनीतिक मानिन्छ।'
'यहाँको ऐनमै त्यो कुरा स्पष्ट लेखिएको छ। आन्दोलन त के हामीले आशंकाको भरमा एयरपोर्टबाटै विदेशीलाई फर्काएको धेरै उदाहरण छ,' उनले थपे।