असार, २८भोजपुर । ठेकेदार कम्पनीले समयमै काम नसक्दा नेपाल टेलिकमको करोडौंको सामग्री अलपत्र बनेको छ । पौवादुङमा गाउँपालिका–३ च्याङ्गे्रको चाम्ताङस्थित टेलिकमको टावर बनाउने ठेक्का पाएको इस्टर नेपाल प्रालिले करोडौंको सामग्री ल्याएर अलपत्र पारेको हो ।
जसको कारण विगत ५ वर्षदेखि सेवा सञ्चालनमा आउन सकेको छैन । टावर सञ्चालनमा नआउँदा स्थानीयबासी सूचनाको पहुँचबाट बञ्चित हुनुपरेको छ ।कम्पनीले करोडौंको सामग्री ल्याएर जडान नगर्दा सिंगो पौवादुङमा गाउँपालिकाबासी र आसपासका क्षेत्र सूचना र सञ्चार सेवाबाट प्रभावित बनेका हुन् ।
‘टेलिकमको टावरको सामग्री वर्षौंदेखि त्यतिकै छ । गाउँमा नेटवर्क नै टिप्दैन । टेलिफोन गर्न डाँडातिर जानुपर्छ’ स्थानीय राम मगरले भने । टेलिकमको टावर राख्ने कुरामा ठेकेदार कम्पनी ईस्टर नेपाल प्रालिले कुनै चासो लिएको छैन ।
तत्कालीन समयमा उपकरण जडानका लागि भारतबाट ल्याइएका कामदारले सोलारसेट मात्रै जडान गरेर हिँडेपछि काम सम्पन्न हुन नसकेको नेपाल टेलिकमका केन्द्रीय प्रबन्धक सुजितानन्द मल्लले बताए ।
उनका अनुसार ठेकेदार कम्पनीले भारतबाट दक्ष कामदारलाई ल्याएर खाने, बस्नेको राम्रो प्रबन्ध उपलब्ध गराए मात्र काम अघि बढाउने तयारी गरेको बुझिएको छ । कम्पनीले भने कोरोना महामारीका कारण काम गर्न नसकिएको बताएको छ ।
यता नेपाल टेलिकम भोजपुर शाखाले भने उक्त टावर निर्माण सम्बन्धी बेखबर रहेको बताएको छ । जिल्लामा सञ्चालित सबै सेवा सञ्चारमा टेलिकमले निगरानी र प्राविधिक सहयोग गरेपनि उक्त टावर अलपत्र रहेकोमा कुनै जानकार नभएको नेपाल टेलिकम भोजपुर शाखा प्रमुख रामसेवक यादवले बताए ।
सम्बन्धित ठेकेदार कम्पनीले टावर सूचारु गरिदिए नेटवर्कको पहुँचमा सहजता पुग्ने पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए ।
उनले टावरका सम्पूर्ण काम सम्पन्न गर्न सम्बन्धित कम्पनीसँग पहल भइरहेको बताए । जिल्लामा अहिले १९ वटा नेपाल टेलिकमको टावर सञ्चालनमा छन् । ७ वटा टावर विविध प्राविधिक समस्याले सञ्चालनमा आउने नसकेको टेलिकमले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्