असार,२० काठमाडौं । आफूले हाँक्दै आएको टेम्पो नजिकै पुगेपछि पार्वतीको बोली फुट्यो, ‘मेरा लागि यो हिरा हो । छोरीहरु जति प्यारा छन्, यो पनि उत्तिकै प्यारो छ ।’
पार्वती श्रेष्ठ सीतापाइलाको टेम्पो ग्यारेजमा छिन् । २७ वटा टेम्पोको स्टेसन हो यो । बिहान झिसमिसेमै निस्कने टेम्पो झमक्क साँझ परेपछि मात्र यो स्टेसनमा आइपुग्थ्यो । रातभर चार्ज भएर बस्थ्यो । चैत ११ गते बिहानदेखि स्टेसनका यी टेम्पोहरु गेट बाहिर निस्किन पाएका छैनन् ।एउटा कुनामा कालो नम्बर प्लेटको टेम्पो छ – बा १ ह ३८५८ ।
तीन महिनायता नम्बर प्लेटसँगै पार्वतीको जीवन पनि धुमिलिएको छ । मैलिएको नम्बर प्लेट पुछ्दै गर्दा पार्वतीको तिख्खर स्वर सुनिन्छ, ‘बच्चाहरुले गर्दा मर्न पनि सकिँदैन । बाँचौँ ! बाँच्न धेरै गाह्रो भैसक्यो ।’
पार्वतीको आँशुले भरिएको जीवनमा खुशी फर्काउने यही टेम्पो हो । दुनियाँले साथ छोड्दा पार्वतीलाई सम्हाल्ने यही टेम्पो हो । अभावले किचेर चौबाटोमा लावारिस उभिएको जिन्दगीलाई बाटो देखाउने पनि यही टेम्पो हो । पार्वती थप खुल्छिन्, ‘मेरो सास नै यही टेम्पोमा अडेको छ ।’
लकडाउन सुरु भएपछि तीन महिनादेखि स्टेरिङको दर्शन गर्न नपाएको टेम्पोले पार्वतीलाई सपनामा आएर झस्काउँछ र निद्रा गायव पारिदिन्छ ।
२०६४ साल । छोरी भर्खर दुई वर्ष पुगेकी थिइन् । तोते बोली बोल्न थालेकी थिइन् । कहिले बिस्कुट भन्थिन्, कहिले चक्लेट माग्थिन्, कहिले चाउचाउ भन्दै रुन्थिन् । छोरीलाई रिझाउनका लागि पार्वतीसँग बोली सिवाय केही थिएन ।छन त पार्वतीका श्रीमान पनि थिए।
बिहेपछि दैलेखबाट काठमाडौं झरेका थिए उनीहरु । रात परेपछि मात्र डेरा छिर्ने श्रीमानको शरीर मदिराले लठि्ठएको हुन्थ्यो । पार्वतीका हातले जागिरे श्रीमानको धन कहिल्यै समाउन पाएनन् । जहिल्यै निराश रहिरह्यो उनको मन ।
सधैंको अभाव । सधैंको श्रीमानको टोकेसो । दिक्क थिइन् २२ वषर्ीया पार्वती । यही दिक्कपनालाई भुलाउन गोठाटारमा टेप्पो चालकको तालिम लिन पुगिन् । आइडिया थियो भक्तपुरमा बस्ने उनकी दिदीको ।
दुई वर्षको बच्चालाई काखी च्यापेर उनी ड्राइभिङ सेन्टर पुग्ने गर्थिन् । बिहानको ११ देखि दिउँसोको तीन बजेसम्म तालिम चल्थ्यो । काखे छोरीकै लागि भए पनि टेम्पो चालकको लाइसेन्स हात पार्नु थियो । त्यही हुटहुटीले हुनुपर्छ पार्वतीले १५ दिनमै चालक अनुमति पत्र हात पारिन् ।
विस्तारै पार्वतीको दैनिकीमा परिवर्तन आयो । बिहानै चार बजे कोठाबाट निस्कने । ग्यारेजबाट टेम्पो झिकेर पालोमा बस्ने । दिनभर सीतापाइला, छाउनी, कालीमाटी त्रिपुरेश्वर र सुन्धारा हुँदै रत्नपार्कको रुटमा टेम्पो हाँक्ने । अनि साँझ आठ बजेतिर घर फर्किने ।
‘डेढ महिना साथीहरुसँग हिँडेर हात सफाइ गरेँ, बल्ल साहुको टेम्पो चलाउन थालें ।’
‘बच्चाहरुले गर्दा मर्न पनि सकिँदैन । बाँचौँ, बाँच्न धेरै गाह्रो भैसक्यो । आजभोलि त रातभर निद्रा नै पर्दैन । एक जार पानी किन्न पनि सोच्नुपर्ने अवस्था आइसक्यो ।’
उदास पार्वती विन्दास हुन थालिन् । दिनभर ग्राहकलाई गन्त्व्यमा पुर्याएवापत पाएको कमाइ सुत्ने बेला सिरानीमुनि राख्न पाउँदा उनी दंग हुन्थिन् । यस्तो लाग्थ्यो, अँध्यारोमा रुमलिएको जीवनमा उत्साहका किरणहरु प्रवेश गरिरहेछन् ।
पार्वतीका दिनहरु टेम्पोमा बित्न थालेपछि दुई वर्षकी छोरीलाई भक्तपुरकी दिदीले पढाउने जिम्मा लिदिइन् । यसले पार्वतीको काठमाडौंको कष्टप्रद जीवनलाई सहज केही सहज बनाइदियो । पार्वती भन्छिन्, ‘फलफूल, बिस्कुट र खेलौना लगेर हप्ता वा महिनाको एकपटक टेम्पो गुडाउँदै छोरीलाई भेट्न पुग्थेँ ।’
पार्वतीले जुन पेसा अंगालिन्, त्यो उनको परिवारका लागि नितान्त नौलो थियो । एउटी महिलाको हातले टेम्पोको स्टेरिङ समाएको न परिवारलाई सैह्य भयो, न छिमेकीलाई । अरु त अरु, पार्वती आफ्नै श्रीमानको आँखाको कसिंङ्गर बन्न पुगिन् ।
उनी दिनभर थाकेर डेरामा र्फकँदा श्रीमानको टोकेसो सहनुपथ्र्यो । श्रीमानले जहिल्यै एउटै कुरा दोहोर्याउँथे, ‘अब टेम्पो चलाउने काम छोड् ।’
पार्वतीलाई फेरि पहिलेकै निरश जिन्दगीमा फर्कनु थिएन । उनी भन्छिन्, ‘श्रीमान राम्रो भइदिएको भए, कमाएर दिने भए किन टेम्पो चलाउन पुग्थें र ! आफू त जसोतसो बाँच्थेँ, बच्चालाई चकलेट किन्ने पनि पैसा नभएपछि मैले के गरुँ ?’
जेठाजुबाट झन् दबावमा परिन् पार्वती । उनका परिवारले भन्थे, ‘टेम्पो त हामीले होइन, मगर र कामी दमाईले पो हो चलाउने हो त।’
आफ्नो पेसाप्रति यस्तो भन्दा पावर्तीलाई झन्का छुटेर आउँथ्यो । तर, उनले चुपचाप टेम्पो चलाइरहिन् ।
भर्खर-भर्खर खुत्रुकेमा पैसा जम्मा हुन थालेको थियो । दुई वर्षमा पार्वतीले पचास हजार रुपैयाँ बचत गरिन् । उनी आफ्नो जीवनमा फर्किएको खुशी गुमाउन चाहन्नथिन्
पार्वतीले आफ्नो खुट्टा राख्ने टेम्पोको ब्रेक साहुको नभएर आफ्नै होस् भनेर कल्पना गरेको धेरै भैसकेको थियो । यो कल्पना पूरा गर्नका लागि बचत भएको ५० हजारले आँट दियो ।
दिदीले थप ५० हजार रुपैयाँ उपलब्ध गराउने बाचा गरिन् । पाँच लाख रुपैँया बैंकबाट लोन निकालिन् । र, अर्को दुई लाख ऋण खोजिन् । अनि ८ लाख रुपैयाँमा आफ्नै टेम्पो बनाइन् पार्वतीले ।
आफ्नै ट्याम्पो हाँक्न थालेपछि पार्वतीको खुशीले सीमारेखा पार गर्यो । तर, उनले सुविस्ताको सास फेर्न सकिनन् । ब्याट्री किन्नेदेखि टेम्पो मर्मत गर्नेसम्मको काममा उनी आफंैले खर्च गर्नुपर्ने भयो । पावर्ती भन्छिन्, ‘झन भड्खालोमा परेजस्तो पो भयो । महिनाको ५० हजार टेम्पोको किस्ता, त्यसमा ब्याट्रीको किस्ता पनि थपियो ।’
तर, १५ रुपैयाँको चटपटेले छाक टारेरै भए पनि पार्वतीले नियमित किस्ता बुझाउन भने छाडिनन् ।
छोरी छ वर्ष पुगिसकेकी थिइन् । उनी दिदीकोमा बसेर अध्ययन गर्ने भएकाले पार्वतीलाई केही सहज थियो । घरमा श्रीमान भए पनि त्यसको अनुभुति गर्न सकेकी थिइनन् ।
‘पाँच वर्ष पुगेदेखि छोरी आफैं भेट्न आउन थालेकी थिई’, पार्वती सम्झन्छिन्, ‘उताबाट माइक्रोमा हालेपछि सुन्धारा आइपुग्थी । म त्यहीँ टेम्पोमा कुरेर बस्थेँ । छोरीसँग एकछिन भेटेर फेरि माइक्रोबसमै पठाइदिन्थेँ ।’
पार्वती यति व्यस्त थिइन् कि मात्र पाँच मिनेटको समय पनि उनलाई निकै मूल्यवान थियो ।
त्यहीबेला उनको पेटमा गर्भ बस्यो । तर, गर्भ बसेका बेला पोसिलो खानुपर्छ, आराम गर्नुपर्छ । स्वास्थ्यको यो नियम लागु गर्न असमर्थ थिइन् उनी । पेटमा बच्चा हुकर्ँदै थियो । परिवारलाई गर्भको बच्चाको चिन्ता होइन कि टेम्पो चालकबाट हात धुनका लागि निरन्तर दबाव थियो ।
उनका जेठाजुले त्यतिबेलै भनेका थिए, ‘कि ट्याम्पो छोड, कि मेरो भाइलाई ।’
पार्वतीले दाह्रा किटेर जवाफ दिएकी थिइन्, ‘त्यसोभए म तिम्रो भाइ नै छोडिदिन्छु ।’ यसो भन्न उनलाई मन थिएन । तर, उनी विवशतासँग हारेकी थिइन् । त्यतिबेला पार्वतीलाई लागेको थियो, यो संसारमा मेरो पर्वाह गर्ने कोही छैन ।
बिहानै खाना पकाएर टिफिनमा हालेर निस्कनु र झमक्क साँझ परेपछि घर फर्किनु उनको दैनिकी थियो । दिनभर टेम्पोको गतिभन्दा दोब्बर गरी उनको मन दौडिरहेको हुन्थ्यो ।
पार्वती भन्छिन्, ‘गर्भवती भएको आठ महिनासम्म मैले टेम्पो हाँकिरहें ।’ आफ्नै सुत्केरी खर्च जुटाउका लागि पनि यसरी घोटिनुको विकल्प थिएन ।
पार्वती गर्भवतीको अन्तिम क्षणमा नितान्त एक्लो अनुभव गरिरहेकी थिइन् । उनलाई सहयोग गर्नका लागि सात वर्षकी छोरी मात्र आइपुगेकी थिइन् । उनै छोरीको सहयोगमा पार्वतीले जन्म दिइन् – स्मृतिलाई ।
सुत्केरी भएर लडेकी पार्वतीलाई भेट्न दिदीबाहेक परिवारका कोही पुगेनन् । सकी नसकी खाना पकाउने, भाँडा माझ्नेदेखि कपडा धुनेसम्मको काम उनी आफैंले भ्याइन् ।
स्मृति जन्मिएको तीन महिना हुन दुई बाँकी थियो । उनी छोरीसँगै टेम्पो लिएर फेरि उही रुटमा निस्किइन् । उनी सम्झन्छिन्, ‘जम्मा गरेका सबै सामान सकिसकेका थिए । घरमा खाने केही थिएन । टेम्पो नचलाए बाँच्नै नसक्ने अवस्था आयो ।’
बिहानै चार बजे उठ्थिन् । एकछिन पूजापाठमा बिताउँथिन् । आफूलाई खाना तयार पारेर टिफिनमा राख्थिन् । स्मृतिलाई न्यानो गरी कपडा लगाइदिन्थिन् । थर्मोसमा तातोपानी र झोलामा केही न्यानो कपडा अनि स्यार्लेक्स राखेर पौने पाँच बजे डेराबाट निस्कन्थिन् ।
ट्रिपमा लाग्नका लागि चाँडै पुग्नुपथ्र्यो । पालो आएपछि स्मृतिलाई एउटा हातले च्याप्थिन् । र, अर्को हातले स्टेरिङ समाउँथिन् । एउटा खुट्टामा स्मृतिलाई टेकाउँथिन् र अर्को खुट्टाले ब्रेक थिच्थिन् । छोरी निदाएपछि छेउको सिटमा सुताइदिन्थिन् । ‘एकातिर छोरीलाई सम्हाल्न अर्कोतर्फ ‘प्यासेन्जर’सँग डिल गर्न निकै सकस पथ्र्यो’, उनी ती दिनहरु सम्झन्छिन् ।
यसरी दिन बिताएर डेरा पुग्दा रातिको आठ बजिसकेको हुन्थ्यो । उनी भनिछन्, ‘अवस्था यस्तो थियो कि एक दिन टेम्पो नचलाए तरकारी र दूध किन्ने पैसासमेत हुँदैन्थ्यो ।’
यसरी सानी छोरीसँग टेम्पो गुडाउँदा कतिले विचरा ! भन्दै मुख चुक्चुकाउथे । कतिले ‘बाउ खै त ?’ भन्दै धारिलो प्रश्न तेर्साउँथे ।
एकदिन एउटी प्यासेन्जर यत्तिसम्म भनिन्, ‘दिदी, बरु मैले एक बोरा चामल किनिदिन्छु । यसरी हत्ते देखाउनु भन्दा घरमै बस्नुस्।’
अहँ ! पार्वतीले चालकको सिट छाडिनन् । कहिले स्तनपान गराउँदै ट्याम्पो दौडाइन् । कहिले रुँदारुँदैकी छोरीलाई काखमा च्यापेर टेम्पो हाँकिन् । यसरी टेम्पो चलाएको देख्दा कति यात्रुले आत्तिँदै भन्थे, ‘विस्तारै चलाउनु है दिदी, बरु ढिलो पुगे पनि केही हुँदैन ।’
जसरी त्यसरी पार्वतीले टेम्पोमै हुर्काइन् स्मृतिलाई ।
जब उनले कठिनाइसँग जुधेर दुई वर्ष पार गरिन्, पार्वतीले उनलाई छाउनीको एउटा मन्टेस्वरी स्कुलमा भर्ना गरिदिइन् । त्यसपछि भने उनले अलिकति भए पनि सुविस्ताको सास फेर्न पाइन् ।
पार्वती भन्छिन्, ‘बिहानै छोरीलाई लिएर टेम्पो चलाउन जान्थेँ । साढे आठ बजेतिर स्कुलमा छाडिदिन्थेँ । अनि फेर साढे तीनबजे छोरीलाई लिएर ट्रिपमै जान्थेँ ।’
यसरी नै आमाछोरीको दैनिकी चलिरहेको थियो । स्कुल भर्ना भएपछि छोरीका लागि खाना र खाजाको चिन्ता थिएन । तर, एक दिन अकस्मात पि्रन्सिपलको फोन आयो ।
‘होइन, पैसा त तिरि नै रहेकी छु । के भएछ !’ पार्वती आत्तिँदै टेम्पोको गति बढाएर स्कुल पुगिन् ।
प्रिन्सिपलले समस्या बताए । ‘तपाईकी छोरी कति बजे उठ्छिन् ? दिनभर सुतेर अरुलाई पनि पढाउन गाह्रो भयो ।’
पार्वतीको अनुहार मलिन बन्छ । उनी सुनाउँछिन्, ‘त्यसपछि भने घरबाट अलि ढिलो निस्कन थालेँ ।’
संघर्षकै मैदानमै थिइन् पार्वती । दैनिकी उस्तै थियो । छोरीले खाजा खाने, कपाल कोर्नेदेखि होमवर्कसम्म टेम्पोमै गर्थिन् । कहिले पानी परेर लुछुप्पै हुन्थिन् । पानीले भिजेपछि रुँदै भन्थिन्, ‘ममी जाडो भयो छिटो घर जाऔँ न !’ छोरीले त्यसोभन्दा आमालाई रुन मन लाग्थ्यो ।
पार्वती र श्रीमानको सम्बन्धमा झन् ठूलो दरार आयो । अब वचन मात्रै होइन, शरीरमाथि श्रीमानको मुक्कासमेत बर्सिन थाल्यो ।
‘छ वर्षसम्म झेलेँ । तर, अति भएपछि छोरी मान्छे हो, संघर्ष गरौँला । हातमा सिप छ, भए मिठो खाउँला, नभए चामल र नुन खाएर पनि छोराछोरी हुर्काउँला भनेर २०७१ सालमा डिभोर्स दिएँ’, पार्वतीले आफूभित्रको कठोरत छताछुल्ल पारिन् ।
अब पार्वतीको अर्को नयाँ युगको शुरुवात भयो । भक्तपुर दिदीकहाँ भएकी जेठी छोरीलाई पनि आफूसँगै राखेर पढाउन थालिन् । टेम्पोको ऋण पनि तिरिन् । फेरि मेगा बैंकबाट ऋण निकालिन् । समूहमा पैसा जम्मा गर्न थालिन् । कुनै दबाव र प्रभावविना पार्वती आफ्नै दुनियाँमा स्वतन्त्र भएर उड्न थालिन् ।
उनी भन्छिन्, ‘पैसा त मैले कमाइनँ । तर, त्यसपछि मेरो जीवन स्वर्गमा भएजस्तो लाग्यो ।’
पार्वती जीवनको ठूलो जँघार तरेर एउटा सहज परिस्थितिमा आइपुगेकी थिइन् । अहिले उनीसँगै अघिपछि गरेकी छोरी तीन कक्षामा पुगिसकेकी छिन् । जेठी छोरी १० कक्षामा पुगिसकेकी छिन् । पावर्ती भन्छिन्, ‘सबै दुःख छोरीहरुका लागि नै गरेको हो । ऋण-धन जे भए पनि खानका लागि छोरीहरुलाई मारेकी थिइनँ ।’
उनलाई व्यवहार धान्न हम्मे-हम्मे नै थियो । मेघा बैंकमा ४५ हजार र सहकारीमा ४० हजार मासिक किस्ता बुझाउनुपर्ने । दुईवटा समूहमा छ/छ हजार रुपैयाँ । टेम्पोबाट मासिक एक लाखभन्दा बढी आम्दानी ।
तर, लकडाउनले टेम्पो ग्यारेजमै थन्किएपछि भने पार्वतीलाई फेरि उस्तै निरस बनाएको छ । उनी भन्छिन्, ‘अहिलेसम्म त जसो-तसो बाँचियो । अब त बाँच्नै गाह्रो छ ।’
लकडाउनका कारण पाँच लाख बढी ऋणमा परिसकेकी छिन् । किस्ताका लागि बैंक र सहकारीबाट तारान्तार फोन आउँछ । पार्वतीले फर्काउने जवाफ नै भेट्टाउँदिनन् ।
केही दिनअघि छोरीको स्कुलबाट किताव लिनका लागि फोन आयो । स्कुलले अनलाइन कक्षा शुरु गरेको थियो । स्कुल पुगेपछि शिक्षकले भने, ‘भर्ना गरेपछि मात्र किताब उपलब्ध गराउन सकिन्छ ।’
जेठीका लागि २२ सय र कान्छीलाई १६ सय रुपैयाँ अब कहाँबाट ल्याउने ? पार्वती भन्छिन्, ‘बरु एक वर्षपछि पढ्लान भनेर किताव नै नलिई फर्किएँ ।’
तीन महिना टेम्पो नचल्दा किस्ता तिर्न बाँकी ब्याट्री पनि बिगि्रसकेको छ । पावर्तीको जिन्दगी फेरि विषम परिस्थितिमाथि उभिएको छ ।
ग्यारेजमा थन्किइएको बा १ ह ३८५८ टेम्पोतर्फ हेर्दै पार्वतीले अनलाइनखबरसँग भनिन्, ‘आजभोलि त रातभर निद्रा नै पर्दैन । एक जार पानी किन्न पनि सोच्नुपर्ने अवस्था आइसक्यो ।’