पत्रकारकी श्रीमती

image
शनिबार, आषाढ २७ २०७७

लकडाउन भएको एक सय दिन पुग्नै लाग्दा पत्रिका बन्द भयो। बिहान दुइटा निजी कलेजमा पत्रकारिता पढाउनुहुन्थ्यो।कलेज पनि लकडाउनले बन्दै थिए। दुवैतिरको जागिर नभएपछि बल्ल फुर्सद भयो उहाँलाई। को उहाँ? सोध्नुहोला। उहाँ पत्रकार, मेरो श्रीमान।

लकडाउनले गर्दा थुप्रै पत्रकारको जागिर चट भएको छ। उनीहरूका परिवार बिचल्लीमा छन्। श्रीमानको जागिर खोसिँदा सबभन्दा तनावमा आउने श्रीमती नै हुन्। मलाई भने श्रीमानको जागिर गएकोमा बढा आनन्द लागेको छ। एक किसिमले म खुसी छु। किन? तपाईं अचम्ममा पर्नुभयो होला हैन? पख्नुहोस् म सविस्तार भन्छु।

हाम्रो बिहे भएको १५ वर्ष भयो। पत्रकारसँग बिहे हुने भनेपछि निकै खुसी थिएँ। नेतालाई प्रश्न सोधेर र्‍याखर्‍याख्ती बनाउने पत्रकार, भ्रष्टाचारलाई बाहिर ल्याउने पत्रकार, महिला हिंसाविरूद्ध लेख्ने पत्रकार, अन्याय र बेथितिविरूद्ध बुलन्द आवाज निकाल्ने पत्रकार।

 

वाह! अजिवको अनुभव एक किसिमको सेलिब्रेटी जस्तै पेशा। फुरुंग थिएँ म।

बिहे हुनुभन्दा अगाडि खासै चिनेको होइन। आफन्तले कुरा ल्याए। बुबाहरू उहाँको घर बुझ्नलाई इलाम जानुभयो। हरियाली चियाबारीको अनुपम ठाउँ देखेर छोरीको भविष्य राम्रो हुने ठानेर बिहे गराउन राजी हुनुभयो बुबा। एकातिर पत्रकार, अर्कोतिर इलाममा घर भएको व्यक्ति छोरीका लागि उपयुक्त पात्र छान्नु भएको थियो। बिहे गरेको केही दिनमै म पनि उहाँसँग इलाम गएकी थिएँ।

पहिलोपटक इलाम पुग्दा मनले 'आहा' भनेको थियो। उहाँहरूको आफ्नै पनि चियाबारी रहेछ।यातायात, बिजुली, विद्यालय, अस्पताल सबै सुविधा नजिकै थियो। माइतीगाउँभन्दा सुगम लाग्यो मलाई।

 

केही दिन इलाम बसाइपछि हामी काठमाडौं फर्किहाल्यौं। धित मर्ने गरी बस्नै पाइएन। त्यसपछिका दिनमा आक्कलझुक्कल दसैंमा गइन्छ त्यो पनि एक दुई दिनमात्र बस्ने गरी।

बुवाको भनाइले पनि मलाई इलामको छापभित्र बसिसकेको थियो। बिहे हुनु अगाडि भन्नु भएको थियो 'इलाम त कस्तो रमाइलो। सबैतिर हरियाली, अझ चियाबारीमा जति घुमे पनि धित नमर्ने।'

श्रीमान एक दैनिक पत्रिकाका पत्रकार। बिहान उच्च मावि र कलेजमा पत्रकारिता पढाउने काम पनि गर्नुहुन्थ्यो। पत्रकारसँग बिहे गरेको खुसी धेरै दिन टिकेन।

बिहे गरेपछि हनिमुन मनाएको कुरा गर्थे साथीहरू। भर्खरै विवाह गरेर श्रीमानको न्यानो अँगालोमा बेरिँदै नयाँ ठाउँ घुम्नुको मज्जा साथीको गफमा मात्र पाएँ मैले।

बिहे गरेको केही दिनमै हरेक बेलुका भात कुरेर बस्नुपर्ने आफ्नो नियति। अफिसबाट ढिलो आएपछि सधैंको ठाकठुक र नोकझोंक। न त न्यानो अँगालो, न त तातो खाना।       

अफिसबाट आउने कुनै निश्चित समय थिएन। 'आइहालें है दाल तताउँदै गर' भनेर फोन गर्नुहुन्थ्यो।  

म हतार हतार दाल तताउँथें।

तेस्रोपटक दाल तताएर सेलाउँदा पनि उहाँको आउने टुंगो हुन्नथ्यो।

कोठामा आएपछि सधैं झर्कन्थें 'बेलामा नआउने भए किन दाल तताऊ भनेर फोन गर्नू?'

उहाँ हाँस्दै भन्नुहुन्थ्यो 'तिमी मात्र हैन यसरी झर्कने। संसारभरका पत्रकारका श्रीमतीको बेथा उही हो।'

'अँ तपाईंलाई थाहा छ नि संसारभरका पत्रकारका श्रीमतीको बेथा?' तात्तातै जवाफ फर्काउँथें 'सबै पत्रकारका श्रीमतीले दाल तताउँदै पर्खंदै फेरि तताउँदै गर्छन् होला नि खुब?'

मेरो अनुहारमा हेरेर हाँस्दै भन्नुहुन्थ्यो 'हो त लाटी सबै पत्रकारका श्रीमती तिमीजस्तै हुन्छन् र त पत्रकारिताका किताबमा लेखिएको छ पत्रकारका हट वाइफ कोल्ड राइस्। पत्रकारको घरमा सधैं श्रीमती तात्तिएकी हुन्छे अनि भात चाहिँ चिसो। बुझ्यौ अब।'

बिस्तारै बानी पर्दै गयो। छोरी जन्मिई अनि छोरा। पहिले दुई जनाको परिवार हुँदा त त्यति अभाव खड्केको थिएन तर चार जना भएपछि त व्यवहार चलाउनै कठिन। त्यसमाथि उहाँले न मलाई समय दिनु भयो न छोराछोरीलाई। कति दिन खाना पर्खने अनि कति दिन झगडा गर्ने। हटबक्समा उहाँलाई खाना राखिदिएर आफू छोराछोरीसँग खाएर थपक्क सुत्न थालें।

उहाँ राति अफिसबाट फर्कंदा टोलभरिका कुकुर भुकेर हुने होहल्लाले घरबेटीले भन्ने गर्थे 'पत्रकारज्यू अफिसबाट आएको परै थाहा हुन्छ। कुकुरले हाम्रो पनि निद्रा हराम।'

न दसैंतिहार राम्ररी मनाउन पाउनू न आफन्तको कुनै कार्जेमा सहभागी। सधैंको काम सधैंको चटारो। बल्लतल्ल आउने एक शनिबार पनि अफिसतिरै जानुपर्ने। भन्नुहुन्छ 'शनिबार भनेर कहाँ हुन्छ हाम्रो त रोटेसनमा बिदा हुन्छ। साथीहरूमा पालैपालो मिलाउनु पर्छ।'

पालो गरेर मिलाए त सात दिनमा कुनै न कुनै दिन बिदा हुनुपर्ने हो तर हप्ताको कुनै पनि दिन कोठामा बसेको थाहा छैन।

कहिले नेतासँग अन्तर्वार्ता भन्या छ कहिले बालुवाटरको बैठक। कहिले कता विरोध सभाको समाचार बनाउनु पर्ने रे। त्यतिमात्र होर कुनै ठूलो दुर्घटना अथवा प्राकृतिक प्रकोप भयो भने त भातपानी केही चाहिँदैन। पानी झरी केहीले छेक्ने होइन। न कर्फ्यू लाग्छ पत्रकारलाई न भूकम्पले छेक्छ।

एक पटक मामाले कीर्तिपुरमा खाना खानलाई बोलाउनु भएको थियो। मामाको पनि शनिबार बिदा भएकाले बिहानै कीर्तिपुर पुगेका थियौं। चिया सुरुप्प मात्र पार्नु भएको थियो एक जना ठूलो नेताको छोरा हृदयघात भएर दिवङ्गत भएको फोन आयो। फोन राखेर 'ल तिमीहरू ट्याक्सीमा आउनु है' भनेर मोटरसाइकल लिएर दौडिहाल्नुभयो।

खाना खाँदै गफ गर्न आतिथ्य गर्ने मामामाइजू उहाँको चाल देखेर ट्वाँ पर्नुभयो।

छोरीले फिलिम हेर्ने भनेर सार्है  ढिट गरिरहेकी थिई। छोरो त सानै थियो। उसलाई फिलिमको त्यति चाह पनि थिएन। एक शनिबार उहाँलाई जोड गरेर गोपीकृष्ण हलमा गयौं।

मोटरसाइकल पार्क गरेर फर्कन लाग्नु भएको थियो फोन आयो। फोनमा कुरा गरिसकेर छोरीलाई च्याप्प अँगालेर भन्नुभयो 'आइसक्रिम खाने भनेकी हैन तिमीले?'

म छक्क परें। अरुबेला आइसक्रिम खाँदा चिसो लाग्छ भन्ने मान्छेलाई आज कुन ज्ञान प्राप्त भयो र आइसक्रिम किन्ने कुरा गर्दै हुनुहुन्छ भनेर हेरेको हेरेइ भएँ। छोराछोरी आइसक्रिम खान पाउने भएपछि दंग परिहाले। गोजीबाट पाँच सय रुपैयाँ निकालेर भन्नुभयो 'छोराछोरीलाई आइसक्रिम खुवाउनू ल।'

फेरि पर्सबाट अर्को पाँच सय पैसा निकालेर भन्नुभयो 'फिलिम हेरेर फर्कंदा ट्याक्सीमा फर्कनू।'

उहाँ मोटरसाइकल लिएर सुइँकिनुभयो।

छोरीको हत्तेले फिलिम हेर्न गएका थियौं। उहाँ छोरीसँग अलिक डराउने भएकाले छोरीलाई आइसक्रिमको लोभ देखाएर फकाउनु भएको रहेछ। मलाई त बानी परिसकेको थियो। श्रीमानसँगै नभएपछि फिलिम पनि खल्लो भयो। छोराछोरी पनि रमाउन सकेनन्। 

ओहो! अरुलाई चाहिँ पत्रकार कत्ति नै ठूलो मान्छे भन्ने लाग्छ। माइतीबाट बुवाले 'हिजोबेलुका टेलिभिजनमा ज्वाइँलाई पनि देखेको थिएँ' भनेर हर्षले गद्गद् हुँदै फोन गर्नुहुन्छ।

के गर्नु आफूले पनि 'त्यही टेलिभिजनमा मात्र देखेको हुँ बुवा' भन्नु नहुने। दूध पसलेदेखि किराना पसले पनि 'टिभीमा सरलाई देखेका थियौं' भन्दै सुनाउँछन्। उनीहरूका लागि पत्रकार ठूलो मान्छे रे।

ग्यासको हाहाकार हुँदा ग्यास पसले भन्छ 'तपाईंको बुढा त पत्रकार हैन र? माथि भन्यो भने घरमै ग्यास आइहाल्छ नि। किन यहाँ नाम लेखाएर पालो कुर्नू?'

कोठामा उहाँलाई ग्यास पसलेले यस्तो भन्थ्यो भन्यो भने हाँसोमा उडाउँदै भन्नुहुन्छ 'कत्ति न शक्तिशाली ठान्छन् पत्रकारलाई। बिचरा पत्रकारको हैसियत कस्तो हुन्छ भन्ने कुरा कमसेकम तिमीले त थाहा पाएकी छौ नि।'

मलाई त समय दिनु भएन लौ। छोराछोरीले उहाँको अनुहार देख्नलाई हप्तौ कुर्नुपर्छ।

राति उहाँ अफिसबाट फर्कंदा छोराछोरी सुतिसकेका हुन्छन्। बिहान झिसमिसेमै कलेज पढाउन दौडिहाल्ने। खाना खान आउँदा छोराछोरी स्कुल गइसकेका हुन्छन्। बिहान उठेर ओछ्यानमा बाबालाई नदेखेर सोध्छन् 'हिजो बेलुका बाबा आउनु भएन?'

एकपटक दाइको कोठामा गएकी थिएँ। भाउजूको आफन्त पर्ने एकजना प्रहरी निरीक्षक दाइकोमा आउनु भएको रहेछ।

दाइले मसँग परिचय गराएपछि ती प्रहरीले सोधे 'ज्वाइँ के गर्नुहुन्छ नि?' मैले जवाफ दिनुभन्दा अगाडि नै दाइले भन्नुभयो 'ज्वाइँ पत्रकार हुनुहुन्छ। तपाईंले पत्रिकामा पढ्नु भा छैन र?'

'ए पत्रकार पो' ती प्रहरीले तुरून्तै रवाफ परिवर्तन गर्दै दाइलाई भने 'तपाईंको ज्वाइँसँग परिचय गराइदिनु न। मेरो सरुवा हुन सकेको छैन। सधैं दुर्गममा ड्युटी। काजमा कति काठमाडौं बस्नु। पत्रकारले भनेपछि हाम्रा हाकिमहरू अलिक हच्किन्छन्।'

'खै ज्वाइँले गर्नुहोला जस्तो त लाग्दैन। तै पनि एकपटक भेटौंला नि' दाइले अलिक अप्ठ्यारो मान्दै भन्नुभयो 'पहिले म ज्वाइँलाई सोध्छु अनि खबर गरौंला।'

दाइलाई अलिअलि थाहा थियो। त्यही भएर टार्न खोज्नु भएको मैले थाहा पाएँ।

बेलुका कोठामा फर्किएपछि ती प्रहरी निरीक्षकको कुरा झिक्दै भनें 'तपाईंको बोली बिक्छ भने सरुवा गराइदिनु न। भाउजूको आफन्त हुनुहुँदोरहेछ। सधैं कालिकोटतिर मात्र खटाउँछ रे अफिसले।'

उहाँले मेरो कुरा सुनेको नसुन्यै गर्नुभयो। दोहोर्‍याएर भनेपछि निकै लामो भाषण सुन्नुपर्यो।

भन्नुभयो 'हामी पत्रकारको सम्बन्ध प्रधानमन्त्री, मन्त्री, राष्ट्रपति, नेता अथवा प्रहरी महानिरीक्षक र बाटोमा सामान बेच्ने मान्छेसँग उत्तिकै हुन्छ। सबै हाम्रा लागि समाचार स्रोत हुन्। अब म आफ्नो पेशागत मर्यादा बिर्सेर सरुवा र बढुवाको दलाली गर्न थालौं? हरेक ठाउँमा जाँदा उनीहरूले मलाई सम्मान गर्छन्। त्यो सम्मान मलाई व्यक्तिगत रूपमा गरेका होइनन् मेरो पेशालाई गरेका हुन्। फलानाको सरुवा र फलानाको बढुवा गरिदिनुपर्‍यो भन्न थालें भने उनीहरूले मलाई पत्रकार हैन एउटा दलालका रुपमा हेर्छन्। नेताहरू पत्रकारसँग डराउँछन् किनभने उनीहरूले अनियमितता गरेका छन्। पत्रकार नै भ्रष्ट हुन थालेपछि उनीहरूले गल्लीमा हिँड्ने कुकुर जत्तिको पनि मान्न छोड्छन्। त्यसकारण आइन्दा यस्तो कुरा मसँग नगर।'

'सक्दिनँ अथवा मिल्दैन भने भइहाल्थ्यो नि। बाह्र सत्ताइस जोडेर भाषण छाँट्नुपर्छ त?' रिस थाम्न नसकेपछि प्वाक्कै भनिदिएँ।

'तिम्रो रिस त नाकका टुप्पामा छ' फकाउँदै भन्नुभयो 'तिमीलाई खुलस्त बुझाउन भनेको लाटी। स्पष्ट भएपछि अर्कोपटकदेखि तिमीले नै यस्तो प्रस्ताव ल्याउने मान्छेलाई जवाफ दिन सक्छौ भनेर नि।'

एक दिन एकजना पत्रकार उहाँलाई भेट्न आएका थिए। उनले काठमाडौंमा घर बनाइसकेका रहेछन्। आफ्नै गाडी रहेछ। उही पेशा एउटै अफिसमा काम गर्ने दुवै जना काठमाडौं बाहिरबाट आएका। अझ ती पत्रकार मेरो श्रीमान काठमाडौं आउनुभन्दा पछाडि आएका रहेछन्। उनको चाहिँ घर र गाडी यता श्रीमानको चाहिँ घडेरी पनि छैन, मात्र एउटा थोत्रो मोटरसाइकल।

त्यही दिन साँझ मैले सोधें 'अरु पत्रकारको त गाडी रहेछ। घर पनि बनाएका रहेछन्। तपाईं चाहिँ तीन दसकदेखि डेरामै। मसँग बिहे गरेको पनि १५ वर्ष हुन लाग्यो। मोटरसाइकलमा हाल्ने तेल पनि छैन भन्नुहुन्छ। ती कार चलाउने चाहिँ पत्रकार हैनन्?'

'हुन्' उहाँले नबुझिने गरि भन्नुभयो 'यहाँ दुई प्रकारका पत्रकार छन्। अक्षर र भाषासँग खेल्ने पत्रकार एकथरीका। अनि अक्षर र भाषाबाहेक सबैसँग खेल्ने अर्को थरिका। यिनीहरूको हैसियत फरक पर्छ।'

'तपाईं चाहिँ केसँग खेल्नुहुन्छ नि? घरमा छोराछोरीसँग खेल्ने समय त हुन्न तपाईंसँग' जान्ने चाह भएर सोधें 'पत्रकारबीचमै कसरी हैसियत फरक पर्छ?'

पढ्दै गरेको पत्रिका एकातिर पन्छाएर भन्नुभयो 'तिमी देखिरहेकी छौ अक्षर र भाषासँग खेल्ने पत्रकारमा परे म।'

खै केसँग खेल्नुहुन्थ्यो कुन्नि। कोठामा केही छ भने त्यही पत्रिकाको डङ्गुर र किताबको थाक मात्र। बिहानै पत्रिका मुठो बनाएर गेट बाहिरबाट फ्याँकिदिन्छ। विभिन्न म्यागेजिन पनि उत्तिकै आउने। किताब त कति हो कति। तरकारी किन्ने पैसा छैन किताब चाहिँ किनिनरहनु पर्ने भन्दा उहाँ भन्नुहुन्थ्यो 'धेरै किताब उपहारमै आइलाग्छन्। कतिपय साथीहरुले पत्रिकामा समीक्षा लेखिदेवोस् भनेर दिन्छन्।'

कोठाभरि पत्रिकाका चाङ र किताबका थुप्रो लागेपछि ममा पनि अलिअलि पढ्ने बानी बसेको थियो। तर अक्षर र भाषासँग खेल्ने भनेको के हो थाहा थिएन।

कहिल्यै यसरी लामो संवाद उहाँसँग हुन्नथ्यो। के भएर हो कुन्नि जाँगर चल्यो र सोधें 'अनि अरु पत्रकार चाहिँ केसँग खेल्छन् नि?' मेरो प्रश्न सुनेर उहाँ मुसुक्क मुस्कुराउनुभयो।

मोबाइलमा फेसबुक हेर्दै भन्नुभयो 'कोही क्रसर मालिकसँग खेल्छन्, कोही रोडा ढुंगासँग। कोही भन्सारसँग खेल्छन् त कोही व्यापारीसँग। ठूला कर्पोरेट व्यापारी कम्पनीसँग खेल्ने र तस्करसँग खेल्ने पत्रकारहरू पनि यहाँ थुप्रै छन्। भयो छोड्देउ यस्ता कुरा। यी यहाँ हेरन भरत पोखरेलले लेखेको' उहाँले फेसबुकमा देखाउनुभो।

त्यहाँ लेखिएको थियो 'मान्छेहरू पत्रकरिताको विकास भएन भन्छन्! अहिले सडकमा प्रेस टाँसेका गाडी यत्रतत्र भेटिन्छन्, त्यो पनि करोड तलका कमै छन्! हेप्नी!!'

मैले त्यस्तो लेखाइ बुझिनँ। उहाँ कुरालाई मोड्ने पक्षमा हुनुहुन्थ्यो।

मैले सोधिहालें 'के भन्नु भएको यस्तो। पत्रकारहरू तपाईंजस्तै अफिसमा गएर समाचार लेख्ने काम गर्ने होइनन् र?'

'हाम्रो मासिक खर्च कति हुन्छ?' कहाँको कुरालाई कहाँ पुर्‍याएर  सोध्नुभयो।

'कोठाभाडा, छोराछोरीको स्कुल फी, खाना खर्च यस्तै ४५/५० हजारजति' मुखाग्र थियो खर्चको विवरण सुनाएँ।

यसमा चाडबाड खर्च, भैपरी आउने उपचार खर्च, लुगाकपडा, पाहुना खर्च जोडेकी थिइनँ।

'दुइटा कलेजबाट मुश्किलले तीस हजार आउँछ। पत्रिकाबाट पनि तीस हजार। आम्दानी ६० हजार रहेछ। महिनामा कति बचत हुन्छ भन त?' सामान्य कुरा सोध्नुभयो।

'सोझो हिसाबले त महिनाको दसदेखि पन्ध्रहजार बचत हुनुपर्ने हो तर तपाईंको पत्रिकाको अफिसले कहिले पो नियमित तलब दिन्छ र?' आयव्यय सुनाएँ।

'मेरो आयव्यय तिमीलाई थाहा रहेछ। अरु साथीहरूको पनि यस्तै हो। केही हजार तलमाथि होला। महिनाको १५ हजार जोगिनु भनेको वर्षको एक लाख असी हजार हुनु हो। त्यो पैसा कहिले जम्मा गरेर जग्गा किन्ने र घर बनाउने? अक्षर र भाषासँग मात्र खेल्ने मान्छेले काठमाडौंमा जग्गा किन्ने र घर बनाउने कल्पना नगरे पनि हुन्छ।'

'अनि कसरी किने तपाईंका साथीहरुले घर र गाडी?' सोध्न त मन थिएन तर फ्याट्टै मुखबाट निस्किहाल्यो।

यसको पनि उहाँले सोझो जवाफ दिनुहोला भन्ने लागेको थिएन।

'हामी तलब मात्र खान्छौं। तर केही साथीहरू रोडा, सिमेन्ट, बालुवा सबै खान्छन्। कोही नेताले भ्रष्टाचार गरेको रहलपहल चाट्छन्, कोही भ्याटचोरको भात खान्छन्। दूतावासका भत्ता र एनजिओको भत्ता थाप्छन्। बाँकी तिमी आफैं बुझ' उहाँले अझै नबुझिने कुरा गर्नुभयो।

'खुब तलब मात्र खाने कुरा गर्नुहुन्छ। कहिले ल्याउनु भयो पत्रिकाको अफिसबाट तलब?' उहाँले तलब मात्र खान्छौं भन्दा मुख चिलाएर भनें  'कलेजले हरेक महिना बैंकमा पैसा हालिरहन्छ तर पत्रिकाले कहिले हाल्यो पैसा?'

'ए लाटी पत्रकारको ९० दिनको एक महिना हुन्छ भन्ने थाहा छैन तिमीलाई?' उहाँले दार्शनिक पारामा भन्नुभयो 'काम गर फलको आशा नगर भन्ने कुरा हामी पत्रकारले सधैं सिरोपर गर्नुपर्छ क्या।'

मैले थाहा पाएसम्म उहाँको पत्रिकाको अफिसले कहिल्यै पनि नियमित रूपमा पैसा दिएन। बल्ल बल्ल तीन चार महिनामा दिन्थ्यो त्यो पनि एक डेढ महिनाको तलब। पछि त कति महिनाको तलब लिन बाँकी छ भन्ने कुरामा उहाँ आफैं दुबिधामा पर्न थाल्नुभयो। लकडाउन सुरू भएपछि त पैसा हाल्न पनि ‘लक’ नै गरिदियो। तै पनि उहाँ अफिस जान चाहिँ कहिल्यै छोड्नु भएन।

पत्रकारकी श्रीमती हुँदा तनाव पनि उत्तिकै। पत्रिकामा उहाँले केके लेख्नुहुन्छ कुन्नि। कोठाको ल्याण्डलाइन फोनमा धम्की सहनु पर्ने मैले। 'तिम्रो श्रीमानलाई ठीक ठाउँमा राख है। अलिक बढ्ता भएजस्तो छ' यो त अलिक सभ्य गाली हो।

'तिमीलाई यो उमेरमै सेतो लुगा लगाउन मन छ। भोलि बिहान देख्न पाउँदैन तिम्रो लोग्नेले' भन्दै तनाव दिने कति हुन् कति।

भनेको बेला कहिल्यै कोठामा नआउने, अब आइहालें भनेपछि पनि घण्टौं लगाउने त्यसमाथि फोनमा आउने धम्कीले गर्दा उहाँ कोठामा नआउन्जेल गेटतिरै हुन्थे आँखा। मुटु जोडजोडले धड्किन्थ्यो। होश ठेगानमा नहुने। हन कतितिरको टण्टा सहनू। उहाँ चाहिँ हाँस्दै भन्नुहुन्छ 'कलमको तागत देख्यौ होला नि। उनीहरूले धम्की दिनबाहेक केही पनि गर्न सक्तैनन्।'

धेरै धम्की आउन थालेपछि बुवाको सल्लाहले प्रहरी कार्यालयमा उजुरी पनि गरें। तर उजुरीले केही भएन। उहाँले फेरि अर्को के समाचार लेख्नुभयो कुन्नि तारन्तार फोन आउन थालिहाल्यो। उहाँ कोठामा बसे पो फोनमा कुरा गर्नु। फोन आएपछि उठाउनै पर्‍यो। आफन्त र साथीहरूको फोन पनि हुन सक्थ्यो। फोनले मलाई रात दिन रुवाउन थालेपछि उहाँले मोबाइल किनिदिनुभयो र भन्नुभयो। अबदेखि तिम्रा आफन्त र साथीहरूलाई मोबाइलमै फोन गर्नु भन। कोठाको फोनमा अब धम्की आउँदैन। साँच्चै त्यो दिनदेखि त कोठाको फोन बज्नै छोड्यो। फोन बिग्रियो कि भनेर जाँच गरें तर चालू थियो। अहँ फोन आएन।

'के जादू गर्नुभयो?' एकदिन सोधें 'हिजोआज त फोन पनि आउँदैन, कुनै धम्की पनि सुनिन्न त?'

हाँसेरै भन्नुभयो 'तिमीलाई मात्र कति तनाव दिनू आफैं तनाव लिनु पर्‍यो भनेर कोठाको फोनको सबै कल मेरो मोबाइलमा ट्रान्सफर गरेको छु।

'ए अनि तपाईंलाई पनि त्यस्तै धम्की दिन्छन् कि दिन्नन् नि?' जान्न मन लाग्यो।

'दिन्छन् अलिलि' उहाँले त्यति मात्र भन्नुभयो।

'दुनियाँलाई शत्रु बनाएर के गरिखानू' उहाँलाई धेरैपटक भनेँ 'बरु इलाम गएर बसौं, छोराछोरी उतै पढाऔंला।'

 मेरो कुरालाई उहाँले गम्भीरतापूर्वक कहिल्यै लिनु भएन। भन्नुहुन्छ 'पत्रकारिता नशा हो। लाग्दै नलाग्नू लागेपछि छोड्न सकिन्न।'

पत्रकारकी श्रीमती भनेर चिनेपछि दुनियाँदारीले मैलाई पो सोर्सफोर्स लगाउन थाले र थपिदिए झमेला। छोराछोरी पढ्ने स्कुलका कार्यक्रममा उहाँ त जाने कुरै भएन। नियमित मै जान्थें। प्रिन्सिपलले चिया खुवाउँदै छोराछोरीको खुब प्रशंसा गर्ने। पढाइ अब्बल पनि होइन किन यत्रो मानभाउ गराए भनेको त स्कुलले आयोजना गरेको अभिभावक दिवसको समाचार पत्रिकामा छापिदिनुपर्यो रे।

ब्युटीपार्लर सिक्न गएकी त्यहाँकी म्याडमले पनि लौ सरलाई भनेर पत्रिकामा छापिदिनुपर्यो रे। प्रिन्सिपलदेखि पार्लरसम्मलाई उहाँको मोबाइल नम्बर दिएर आफैं कुरा गर्नुहोला भन्दै फुत्किनुबाहेक मसँग विकल्प थिएन।

जिन्दगी जेनतेन चलिरहेकै थियो। कोरोनाले लकडाउन भयो। कलेज बन्द, तलब पनि बन्द। बिहानै दौडिने अब चाहिँ बिहानको खाना खानउन्जेल घरमा बस्न थाल्नुभयो। लकडाउनभन्दा तीन महिना अगाडिदेखि पत्रिकाले तलब दिएको थिएन। दुई महिना कटेपछि घरबेटीले भाडा माग्न थाले।

 'घरबेटीले भाडा मागेको माग्यै छन्, खै तपाईंको अफिसले तलब दिँदैन?' दिक्क मान्दै सोधें।

'कुन अफिस? यतिबेला कलेज सबै बन्द छन् भन्ने कुरा तिमीलाई थाहा छ त' सधैंको जस्तो जवाफ थियो उहाँसँग।

'कलेज बन्द छ भन्ने त थाहा छ। अनि पत्रिकाको अफिस नि? लकडाउनमा पनि लखरलखर धाउनुहुन्छ त।' रिसलाई काबुमा राख्दै भनें।

'ए पत्रिकाको अफिस? त्यो त खुल्लै छ' मोबाइल टपक्क टिपेर ढोकाबाट निस्कँदै भन्नुभयो 'भोलि दिन्छुमात्र भन्छ। आज एकपटक फाइनल कुरा गर्छु।'

हरेक दिन बिहान फाइनल कुरा गर्छु भनेर निस्किनुहुन्छ र बेलुका लुरुक्क परेर घर आउनुहुन्छ। बोल्नै पर्दैन, उहाँको अनुहारले भनिरहेको हुन्छ तलब त के कुरा दिनभर खाजा पनि खाएको छैन। हतार हतार चिया पकाएर दालमोट र चिउरा प्लेटमा राखिदिन्छु। माया लाग्छ उहाँको अनुहार हेर्दा तर मायाले संसार थाम्ने होइन। मायाले सिलिण्डरमा ग्यास आउँदैन। माया गरेर घरबेटीले भाडा नमागे हुन्थ्यो नि। पसलेले माया गरेर दाल, चामल, चिनी, तेल, नुन, तरकारी सित्तैमा दिए कत्ति मज्जा।

तलबै नदिने पत्रिकाको अफिस चाहिँ किन जानू? यो प्रश्न जतिपटक गरे पनि जवाफ कहिल्यै दिनुभएन।

'पत्रिका बन्द भयो अब नआउनु भनेको छ' कोठामा पसेर थकित अवस्थामा खुइय गर्दै भन्नुभयो 'अब काठमाडौंमा बस्न सकिन्न जस्तो छ। इलाम जाने पास बनाएर आएको छु।'

'हँ' उहाँको कुराले मेरो मुख आँको आँ नै रह्यो। महिनौंदेखिको तलब माया मारेर छोड्नुपर्दा उहाँको मनभित्र जुन पीडा थियो त्यो अनुहारमा देखिन्थ्यो। मेरो अनुहार चाहिँ उज्यालो भएको थियो। काठमाडौं जस्तो मरुभूमि छोडेर इलामको हरियालीमा रमाइन्छ अब। न कोठा भाडाको पीर न त अत्यन्त चर्को स्कुल शुल्क। अब कसैले फोनमा धम्क्याउने छैन। हरेक बेलुका भात कुर्नु पर्दैन। छोराछोरीले पनि आफ्नो बाबासँग मज्जाले खेल्न पाउँछन्। आफ्नै फोगटोमा दुःखजिलो गरेर खाइन्छ। बल्ल मेरो चाहना पूरा भयो।

श्रीमानको जागिर जाँदा र महिनौंको तलब नपाउँदा पनि खुसी हुने व्यक्ति म। हजुर, म पत्रकारकी श्रीमती।