कात्तिक, १२ काठमाडौं । दसैं विदापछि खुलेको सेयर बजारमा लगानीकर्तालाई झनै उत्साह थपेको छ । बुधबार बजार ४१ अंकले बढेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ हजार ६४७ अंकमा पुगेको छ । दशैंअघि नेप्से परिसूचक १ हजार ६०६ अंकमा थियो।
बुधबार २ अर्ब ७२ करोड ५९ लाख रुपैयाँ बराबरको ९३ लाख २२ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । बुधबार ग्लोबल आईएमई बैंकको सबैभन्दा बढी सेयर किनबेच भएको छ ।ग्लोबल आईएमईको प्रतिकित्ता ३०१ मा २० करोड ६५ लाख ४४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै प्राइम कमर्शियल बैंकको ३३३ मा १७ करोड ४४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । प्रभु बैंकको २६८ मा १६ करोड २७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
पहिलो दिननै सेयर बजारले लगानीकर्तालाई निकै उत्साहित बनाएको छ । सेयर खरिदबिक्री रकममा पनि बढेको छ । बुधबार वाणिज्य बैंकहरुले सेयर बजारलाई तानेको हो । बैंकहरुले धमाधम लाभांश घोषणा र पहिलो त्रैमाशिक वित्तीय विवर सार्वजनिक गरेपछि सेयर कारोबारमा बढोत्तरी आएको हो ।
दशैंमा थप रेमिटेन्स भित्रिंदा त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको अनुमान गरिएको छ । यस्तै, बैंकिङ प्रणालीमा रहेको अधिक तरलताले पनि सेयर बजारलाई बढाउन सहयोग पुर्याएको छ ।
बुधबार व्यापारिक बाहेक सबै समूहका सूचमा हरियाली छाएको छ । जीवन बिमा समूह सबैभन्दा धेरै ११०.६८ अंकले वृद्धि भएको छ। वाणिज्य बैंक समूह ५५.१५ अंकले बढेको छ ।
प्राइम कमर्शिय बैंकको सेयर मूल्यमा सर्किट लागेर बढेको छ । सबैभन्दा धेरै पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको मूल्य ३.४७ प्रतिशतले घटेको छ ।