भारतको डान्स बारबाट नेपाली बालिकाको उद्दार, दुई जना पक्राउ

image
सोमबार, आषाढ ८ २०७७

८ असार, काठमाडौं । ललितपुर–५, लगनखेलबाट १३ वर्षीया बालिकालाई काममा लगाइदिन्छु भनेर भारतमा विक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ इटहरी बस्दै आएका कृष्ण मगर र कास्की लेकसाइड बस्दै आएका प्रविण तामाङ छन् ।

नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले भारतीय प्रहरीको सहयोगमा पीडितलाई उद्दार गरी दुई जनालाई पक्राउ गरेको हो।

ब्युरोका एसपी गोविन्द थपलियाका अनुसार बालिकाको खोजी गर्ने क्रममा रसलपुर भन्ने स्थानमा रहेको खुलेपछि भारतीय प्रहरीसँग समन्वय गरिएको थियो । त्यसक्रममा बालिकालाई उत्तर प्रदेशको पिप्रा रसलपुर ओडओलिया भन्ने स्थानमा लगेर डान्स आर्केस्ट्रामा काम लगाएको पाइएको थपलियाले बताए ।

उनका अनुसार ९ फागुनमा उनीहरुले बालिकालाई काठमाडौं बसपार्कबाट भैरहवा–सुनौली हुँदै भारत लगेका थिए । पक्राउ परेकाविरुद्ध मानव बेचबखिन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अघि बढ्नेछ ।

थप अनुसन्धान भइरहेको जनाइएको छ ।