सरकारलाई टेम्पो चालकको प्रश्न- अब कसरी बाँच्ने ?

image
बुधबार, आषाढ १७ २०७७

असार, १७ काठमाडौंँ । कैलालीका विष्णु चौधरी घरबाट काठमाडौं आएको एक महिनामै सरकारले लकडाउनको घोषणा गर्‍यो । लकडाउन भन्ने कहिल्यै नसुनेका चौधरीले यत्ति बुझे, ‘यो भनेको आफ्नो ट्याम्पोको स्टेरिङसँग केही दिन सम्बन्ध विच्छेद गर्नु हो।’

विष्णुको कल्पना विपरीत लकडाउन लम्बियो । २८ वर्षीय टेम्पो चालक विष्णुलाई जीवन धान्न धौ-धौ पर्‍यो । ‘महिनाको १२ हजार तलब । दिनको दुई सय टिपको पैसा गरेर १७/१८ हजार कमाइ हुन्थ्यो’, सीतापाइलामा भेटिएका विष्णु भन्छन्, ‘बचेको पाँच/सात हजार घर पठाउँथे ।’

उनीसँ न बैंक ब्यालेन्स छ, न काम । बाँच्न गाह्रो पर्‍यो ।

विष्णु चक्रपथदेखि सीतापाइलासम्मको रुटमा साहुको टेम्पो चलाउने गर्थे । त्यो काम ठप्प भएपछि केही दिन मजदुरीमा हिँड्न थाले । कुममा भएको घाउ देखाउँदै उनी भन्छन्, ‘इँटा, बालुवा बोक्ने काममा हिँड्न हातमा घाउ भएर चलाउनै नहुनेभएपछि अहिले यत्तिकै बसेको छु ।’

उनी बेलाबेला सीतापाइलाको टेम्पो ग्यारेजमा आउँछन्, टेम्पो चल्ने नचल्नेबारे बुझ्छन् र र्फकन्छन् ।

विष्णुका श्रीमती र दुई सन्तान कैलालीमै छन् । ‘घरमा पहिल्यै लिएको एक बोरा चामलले परान धानेको छ’, विष्णुले भन्छन्, ‘तीन महिना भयो कोठाभाडा नतिरेको । हरेक दिन बिहानै कोठाअगाडि घरबेटी देखापर्छन् ।’

अहिले काठमाडौंमा सबै टेम्पो चालकको हालत विष्णुको जस्तै छ । सीतापाइला-सुन्धारा रुटमै टेम्पो चलाउने महिला चालक पार्वती श्रेष्ठ भन्छिन्, ‘अहिलेसम्म त जसोतसो बाँचियो, सबै सकिएर खरानी भइयो, अझै लकडाउन भए भोकै बस्नुको उपाय छैन ।’

ऋण जुटाएर जसोतसो परिवारको गर्जो टारे पनि सरकारी स्कुलमा दुई छोरीलाई भर्ना गर्न नसक्दा किताबसमेत लिन नपाएको पार्वती बताउँछिन् ।’ उनकी जेठी छोरीले १० पास गरेकी छिन् । कान्छी चार कक्षामा पुगेकी छिन् ।

०६४ सालबाट टेम्पोमा निर्भर पार्वतीका श्रीमान छैनन् । काखे दुई छोरीलाई हुर्काउँदै उनले किस्तामा टेम्पो पनि खरिद गरिन् । टेम्पोसँगै वर्ष-वर्षमा फेर्नुपर्ने साढे दुई लाखको ब्याट्री पनि किस्तामै लिने गरेकी थिइन् ।

पार्वती भन्छिन्, ‘बैंक, सहकारी र समूहमा गरेर ८३ हजार रुपैयाँ त मासिक किस्ता नै तिर्नुपर्छ । बैंकले फोन गरेर हैरान पारेको छ । खाने खर्च जुटाउन त गाह्रो छ, कहाँबाट ल्याएर तिर्नु बैंकको किस्ता ?’

सरकारले सबै प्राइभेट गाडी चल्न दिने तर टेम्पोलाई रोकेकोप्रति पावर्तीको रोष छ । ‘रातो प्लेटवाला गाडीबाट चाहिँ कोरोना नसर्ने, अनि हाम्रोबाट चाहिँ सर्ने ? यो कस्ताखालको सिस्टम हो’, पावर्ती चर्किन्छिन् ।

 

टेमपो चालक विमला र पार्वती ।

०५८ सालदेखि टेम्पो चलाउँदै आएकी विमला थापा भन्छिन्, ‘ठीकै छ, रोग सर्छ भने सरकारले भनेको हामी मान्छौँ । तर, हामीजस्ता श्रमजीवीलाई बाँच्ने केही आधार त सरकारले दिनुपर्‍यो ।’

विमलाको पनि आफ्नै टेम्पो छ । र, बैंकमा किस्ता पनि बुझाउनुपर्ने छ । उनी आफ्नै शैलीमा भन्छिन्, ‘बैंकले दिनदिनै फोन गरेर एलर्जी नै भैसक्यो । हामीलाई तीन महिनाको किस्ता सरकारले छुट गरिदिनुपर्‍यो । काम नभएपछि कहाँबाट लिएर तिर्ने ?’

चार महिनाअघि मात्र पाँच वर्षे वारेन्टी भएको लिएको चार लाख रुपैयाँको ब्याट्री व्याट्री पनि ट्याम्पो नचल्न ड्यामेज भैसकेको विमलाको गुनासो छ । छेउमै बसेकी पार्वतीले भनिन्, ‘बच्चाले गर्दा मर्न पनि सकिँदैन, बाँच्न पनि गाह्रो भयो ।’

ट्याम्पो चालक विश्वराम श्रेष्ठको पनि उस्तै गुनासो छ । ‘भक्तपुरतिर बाइकबाट चल्ने रिक्सा कोचाकोच गर्दै मान्छे हालोको छ, स्कर्पियोहरुमा पनि त्यस्तै खचाखच मान्छे बसेर हिँडेका छन्’, हामी गरिबलाई चाहिँ किन रोकेको होला’, विश्वराम ठप्छन्, ‘कि लकडाउन ठप्पै हुनुपर्‍यो कि हामीलाई पनि निस्कन दिनुपर्‍यो ।’ तर, सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले साउन ७ सम्म अहिलेकै लकडाउनलाई जारी राख्ने निर्णय गरेको छ ।

लकडाउनमा ठन्क्याएर सरकारले आफूहरुलाई कुनै पनि व्यवस्था नगरेकोप्रति टेम्पामा आश्रति चालकहरु रुष्ट भएका छन् ।

नेपाल सफा परिवहन व्यवसायी संघका अनुसार काठमाडौंमा सात सय वटा सफा ट्याम्पो गुड्ने गर्थे । तिनमा करिव पाँच सय जना महिला टेम्पो चालक छन् ।

‘अधिकांश अत्यन्तै निम्न आय भएका महिलाहरुले टेम्पो चलाएर गुजारा चलाउँथे । थुप्रै एकल महिला थिए’, संघका अध्यक्ष विष्णु धितालले भने, ‘आय नै सुकेपछि चालकहरुमा निराशा छाएको छ ।’