मुम्बई(एजेन्सी) । अभिनेत्री राखी ७०, ८० र ९० को दशककी फिल्मकी चर्चित अनुहार हुन् । उनले ‘शर्मिली’, ‘दाग’, ‘कभी–कभी’, ‘तपस्या’ जस्ता दशौं सुपरहिट क्लासिक फिल्म दर्शकलाई दिएकी छन् । करियरको शुरुवातमा उनले सन् १९७३ मा प्रख्यात निर्देशक, कवि तथा कथाकार गुलजारसँग विवाह गरेकी थिइन् । यो जोडीबाट छोरी मेघनाको जन्म भएप्छि गुलजारसँग राखीले सम्बन्धविच्छेद गरिन् । उनी आज आफ्नो जन्मदिन मनाउदैछिन् ।
राखीले २० वर्षको उमेरमा फिल्म उद्योगमा पाइला चालेकी थिइन् । उनले सन् १९६७ मा रिलिज बंगाली फिल्म ‘बधू बरण’मार्फत अभिनयमा पाइला चालिन् । यसको तीन वर्षपछि उनले सन् १९७० मा बलिउड फिल्म ‘जीवन मृत्यु’मा डेब्यू गरिन् । राखी अमिताभ बच्चनको आमा, प्रेमिका र सेक्रेटरीका रुपमा पनि फिल्ममा देखिइन् ।
राखीले आफ्नो जीवनमा ‘कभी–कभी’, ‘कसमे वादे’, ‘त्रिशूल’, ‘मुकद्दर का सिकन्दर’, ‘दूसरा आदमी’, ‘जुर्माना’, ‘काला पत्थर’ जस्ता सुपरहिट फिल्ममा अभियन गरिन् । कुनै समयमा लाखौं दर्शकको हृदयमा बसेकी राखीको लुक्स अहिले बदलिएको छ ।राखी र गुलजारकी छोरी मेघना फिल्म निर्देशक हुन् । राखी आजकल आफ्नै फार्म हाउसमा समय बिताइरहेकी छन् । उनी त्यहाँ फलफूल र तरकारी उब्जाइरहेकी छन् । शहरको होहल्ला र भागदौडबाट टाढा रहेकी उनी शान्त वातावरण रुचाउँछिन् ।