असोज, १ हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना संक्रमण दर लगातार बढिरहेको छ ।साउन मध्यसम्म औसतमा दैनिक ३ जनामा कोरोना संक्रमण देखिएकामा हिजोआज बढेर औसतमा दैनिक ५० जनासम्म पुगेको छ ।
साउन २० देखि कोरोना संक्रमण दर बढ्न सुरु भएदेखि अपवादबाहेक संक्रमितको दैनिक संख्या नघटेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा आइसोलेसन इन्चार्ज भोला चौंलागाइँले बताए ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड प्रवक्ता वरिष्ठ जनजस्वास्थ्य अधिकृत डा.पुरुषोत्तम सेढाईका अनुसार हेटौंडामा भदौ २५ गते ६५ जनामा कोरोना संक्रमण देखियो । त्यस्तै २६ गते ६२ जना, २७ गते ५१ जना, २८ गते ५१ जना र २९ गते ९५ जनामा संक्रमण देखिएको छ । भदौ ३१ गते भने ६२ जना संक्रमित भेटिए ।
११ सय संक्रमित, १० जनाको मृत्यु
जिल्लामा कोरोना संक्रमितको संख्या ११ सय पुगेको छ भने बुधबार साँझसम्म सक्रिय संक्रमितको संख्या ४७४ पुगेको छ । कोरोना संक्रमणकै कारण १० जनाको मृत्यु भइसकेको छ ।२ जनाको हटौंडामा मृत्युपछि कोरोना पुष्टि भएको हो भने ८ जनाको चितवन र काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
मकवानपुरमा हालसम्म ५ सय ८७ जनाले कोरोनामुक्त भएर घर फर्किएका छन् भने २ सय ५० जना होटल तथा होम आइसोलेसनमा र १ सय ३५ जना संस्थागत आइसोलेसनमा छन् ।
नियन्त्रणको प्रयास गर्दै छौं : सरकार
राजधानीमै कोरोना संक्रमण तीब्र रुपमा बढिरहे पनि बागमती सरकार मुकदर्शक बनेको छ । प्रदेश सरकारले कोरोना संक्रमितको तथ्यांक राख्नेबाहेक अरु उल्लेख्य काम गर्न सकेको छैन ।
सामाजिक विकास मन्त्री युवराज दुलालले सरकारले नियन्त्रण र सचेतनाको काममा अथक प्रयास गरिरहेको बताए । उनल लकडाउन निषेधाज्ञालाई निरन्तरता दिन नसक्दो संक्रमण फैलिएको जिकिर गरे ।
‘यो विषय सरकारको सफलता असफलता भन्दा पनि दैनिक जनजीवनले पारेको असर हो । हामीले प्रदेशको नाका पूर्ण रुपमा थुन्न पनि सकेनौं, लकडाउनलाई निरन्तरता दिँदा जनजीवनमा प्रतिकुल असर पर्ने देखिएकोले खुकुलो बनाउँदा संक्रमितको संख्या ह्वात्तै बढेको हो’ उनले भने ।मन्त्री दुलालले भारतबाट दैनिक उपभोग्य सामान ल्याउँदासम्म संक्रमण नरोकिने बताए ।