‘शुक्र ग्रहमा जीवन हुनसक्ने संकेत’

image
मङ्गलबार, भाद्र ३० २०७७

भदौ, ३० काठमाडौं । खगोलशास्त्रीहरुले शुक्र ग्रहको वायुमण्डलमा जीवन हुनसक्ने संकेत मिलेको बताएका छन् । बेलायतको कार्डिफ युनर्भिसिटीका वैज्ञानिकहरुले शुक्र ग्रहमा जीवन हुन सक्ने बताएका हुन् ।उनीहरुले शुक्र ग्रहको वायुमण्डलमा फास्फिन ग्यास फेला परेको भन्दै सूक्ष्म जीवहरु शुक्र ग्रह माथिको बादलमा तैरिएर रहेको हुन सक्ने सम्भावना औंल्याएका छन् ।

वैज्ञानिकहरुका अनुसार फास्फिन एक फास्फोरसको र तीन हाइड्रोजको कण मिलेर बन्दछ । पृथ्वीमा पनि फास्फिनको सम्बन्ध जीवनसँग छ । यो ग्यास पेन्गुइन जस्ता जीवको पेटमा पाइने सूक्ष्म जीवसँग सम्बन्धित छ या दलदल जस्तै कम अक्सिजन भएको स्थानमा पाइन्छ । यस ग्यासलाई माइक्रो ब्याक्टेरियाहरुले अक्सिजनको अनुपस्थितिमा उत्सर्जन गर्दछन् । फस्फिन कारखानाबाट पनि बनाउन सकिन्छ तर शुक्र ग्रहमा कारखाना छैन, पेन्गुइन पनि पक्कै छैन ।

त्यसो हो भने शुक्र ग्रहमा यो ग्यास किन छ ? त्यो पनि ग्रहको सतहबाट ५० किलोमिटर माथि ? बेलायतको कार्डिफ युनिभर्सिटीका प्रोफेसर जेन ग्रिब्स र उनका सहकर्मीहरुको प्रश्न यही हो ।

उनीहरुले नेचर एस्ट्रोनोमी नामको जर्नलमा एक रिपोर्ट प्रकाशित गरेका छन्, जसमा शुक्र ग्रहमा फस्फिन ग्यास भएको उल्लेख छ ।यद्यपि उनीहरुले शुक्र ग्रहमा जीवन मिलेको दाबी गरेका छैनन् । बरु त्यहाँ जीवन हुन सक्ने सम्भावनाबारे थप अनुसन्धान आवश्यक रहेको बताएका छन् ।

शुक्र ग्रहमा जीवनको सम्भावना सूर्यमण्डलको कुनै दोस्रो ग्रहभन्दा कम मानिन्छ । किनभने शुक्र ग्रहमा वायुमण्डलको बाक्लो तह छ, जसमा कार्बनडाइअक्साइड ९६ प्रतिशत छ । यस ग्रहमा वायुमण्डलको दबाब पृथ्वीको तुलनामा ९० गुणा बढी छ । त्यसैले होला शुक्र ग्रहलाई बाइबलमा नरक भनिएको छ ।

शुक्र ग्रहको सतहको तापक्रम ४०० डिग्री सेल्सियसभन्दा बढी छ । त्यसैले शुक्र ग्रहको सतहमा कुनै जीव भएको सम्भावना अन्य वैज्ञानिकहरुले देख्दैनन् तर ग्रहको सतहभन्दा ५० किलोमिटर हुन पनि सक्ने उनीहरु बताउँछन् ।