भारतमा कसरी नाघ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ?

image
आइतबार​, आश्वीन १८ २०७७

असोज,१८   काठमाडौं । भारतमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्ने भारत तेस्रो मुलुक हो ।अमेरिकामा २ लाख ९ हजार र ब्राजिलमा १ लाख ४५ हजारभन्दा बढीको मृत्यु भएको छ । भारता मृतकको संख्या एक लाख एक हजार ७८२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।सेप्टेम्बर भारतको लागि कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्याको आधारमा सबैभन्दा खराब महिना रह्यो । सेप्टेम्बर महिनामा भारतमा औसतमा दैनिक ११०० मानिसको मृत्यु भयो ।

केही राज्यहरुमा अझै पनि कोरोनाबाट मृत्यु हुनेको संख्यमा निरन्तर वृद्धि भइरहेको छ । यसले भारतमा अझै पनि कोरोना महामारी बढ्न सक्ने संकेत दिएको केही विशेषज्ञहरुले बताएका छन् ।

सबैभन्दा अगाडि महाराष्ट्र

भारतको सबैभन्दा ठूलो र धनी राज्यमध्येको एक महाराष्ट्रमा सबैभन्दा धेरै १३ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । राज्यमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ हजार नाघेको छ ।

भारतमा सबैभन्दा पहिला महाराष्ट्रमै कोरोना महामारी फैलिएको थियो । सेप्टेम्बर महिनामा मात्र यो राज्यमा औसतरुपमा दैनिक तीनदेखि पाँचसयसम्मको मृत्यु भएको थियो । अन्य राज्यको तुलानामा यो संख्या धेरै बढी हो । कोरोनाबाट सबैभन्दा प्रभावित बनेका अन्य राज्यहरुमा पनि दैनिक एक सयभन्दा थोरै मानिसको मृत्यु भएको थियो ।

वित्तीय केन्द्रका रुपमा चिनिएको मुम्बई अहिले कोरोनाको महामारी सबैभन्दा धेरै फैलिएको सहर बन्न पुगेको छ । भारतमा सबैभन्दा धेरै मानिसको मृत्यु हुनेमा मुम्बई अगाडि छ । दोस्रो स्थानमा पुने छ । पुनेमा कोरोनाबाट पाँच हजार आठसयभन्दा धेरैको मृत्यु भएको छ ।भारतमा कोरोनाबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुने १० जिल्लामध्ये महाराष्ट्रमा पाँचओटा छन् ।

मुम्बईमा एन्टीबडी परीक्षणको सर्वेक्षण गरिरहेका आर्नभ घोष सहरको केही स्थानमा आधा जनसंख्यामा कोरोना एन्टिबडी पाइएको बताउँछन् । उनका अनुसार मुम्बईको तुलनामा पुनेबाट धेरै संक्रमण फैलिएको छ। मुम्बईको संक्रमण मुम्बईबाट धेरै बाहिर गएको छैन तर पुनेमा भने गाउँबाट सहर आउने र सहरबाट गाउँ जानेजस्ता गतिविधि बढेकाले पुनेबाट धेरै संक्रमण फैलिएको हो ।

त्यस्तै कमजोर स्वास्थ्य प्रणाली र समयमा नै उपचार पाउन नसक्ने समस्याको कारण पनि महाराष्ट्रमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको जानकारहरुको दाबी छ ।

पञ्जाबको बिग्रँदो अवस्था

भारतको उत्तरी क्षेत्रमा पर्ने पञ्जाबमा संक्रमितको आधारमा मृत्यु हुनेको संख्या तीन प्रतिशत छ । यो अनुपात समग्र भारतको अनुपातभन्दा दोब्बर हो । यसले पनि पञ्जाबमा संक्रमणको अवस्था कस्तो छ भन्ने देखाउँछ । भारतको ब्रूकिङ्स इन्स्टिच्युटकी डाक्टर शमिका रवि पञ्चाबमा पछिल्लो समय बढ्दो क्रममा रहेको संक्रमण चिन्ताको विषय रहेको बताउँछिन् । ‘यो राज्यमा देखिएको कोरोनाको मृत्युदर मुलुकको सबैभन्दा उच्च मात्र होइन, निरन्तर बढ्ने क्रममा पनि देखिएको छ’, उनले भनिन् ।

डाक्टर रविका अनुसार परीक्षणको दायरा कम हुनु पनि मृत्युदर बढी हुनुको एक कारण हो । परीक्षण सीमित गर्दा अन्तिम अवस्थामा पुगेपछि मात्र मानिसमा कोरोना संक्रमण भएको पुष्टि हुन्छ ।

परीक्षण नै समस्या हो त ?

पञ्जाबमा समग्र परीक्षणमध्ये ६ दशमलव २ प्रतिशत मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । यो दर महाराष्ट्रको भन्दा निकै कम हो । महाराष्ट्रमा यो दर २४ प्रतिशत छ । तर बिहार र झरखण्डको तुलनामा धेरै हो । बिहारमा दुई दशमलव ५ प्रतिशतमा संक्रमण पुष्टि भएको छ भने झारखण्डमा संक्रमण पुष्टि हुनेको संख्या तीन दशमलव ७ प्रतिशत छ ।

कम परीक्षण गर्दा पनि संक्रमण दर धेरै पाइयो भने कोरोना संक्रमण उल्लेख्य मात्रामा फैलिरहेको छ भन्ने बुझ्नुपर्ने डाक्टर रवि बताउँछिन् । समयमै कोरोना संक्रमितले उचित उपचार पाउन नसक्दा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको विशेषज्ञहरुको भनाइ छ ।

भारतको तामिलनाडुमा अहिलेसम्म नौ हजारभन्दा धेरैको कोरोनाको कारण मृत्यु भइसकेको छ । तर, दैनिक मृत्यु हुनेको संख्या भने जुलाईयता घट्दो क्रममा छ । जसको एक कारणको रुपमा समयमा नै कोरोना संक्रमितको पहिचान हुनुलाई लिइएको छ ।यद्यपि संक्रामक रोग विशेषज्ञ जाकोब जोनकाअनुसार कामजोर स्वास्थ्य सेवाको कारण पनि धेरै मानिसको मृत्यु हुनेतर्फ ध्यान दिनुपर्ने सुझाउँछन् ।

सहरी जिल्लामा धेरै मृत्यु

भारतमा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित १० जिल्ला सहरी क्षेत्र छन् । मृत्युको हकमा पनि यो तथ्यांक फरक छैन । कोरोनाबाट मृत्यु हुनेमध्ये ८० प्रतिशत सहरी जिल्लामा भएका छन् । र, धेरै जिल्लामा मृत्युदर पनि भारतको औसत मृत्युदरभन्दा बढी छ ।

सहरी क्षेत्रमा अत्यधिक भिडभाडयुक्त बसोबास हुने र भौतिक दुरी कायम राख्न पनि सम्भव नहुने भएकाले सहरी जिल्लामा कोरोनाको संक्रमण धेरै देखिएको हो । यसले सम्पन्न जिल्लाहरुमा किन धेरै कोरोनाको संक्रमण छ भन्ने कुरालाई पनि देखाउँछ । त्यसका साथै नजिकैका जिल्लाहरुबाट पनि मानिसहरु उपचारको लागि सहरी जिल्लामा आउने गरेकाले यहाँको मृत्युदर बढी हुने विज्ञहरुको भनाइ छ ।

गरीब राज्यमा मृत्युको संख्या कम

भारतको गरीब राज्यहरुमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम छ, जसको एउटा कारण सही तथ्यांक सार्वजनिक नगरिनु हुनसक्छ। त्यसका साथै गरीब राज्यहरुमा मानिसहरुको गतिविधि पनि सीमित हुने भएकाले यी राज्यहरुमा जोखिम केही कम देखिएको छ ।

यद्यपि ग्रामीण क्षेत्रहरुमा कोरोना संक्रमणको जोखिम भने नटरेको जानकारहरु बताउँछन् । डाक्टर घोष बताउँछन्, ‘सौभाग्य मान्नुपर्छ कि कोरोना महामारी महाराष्ट्रजस्ता सम्पन्न राष्ट्रमा फैलियो । यदि यो संक्रमण बिहारमा फैलिएको भए यसले ठूलो संकट निम्त्याउने थियो ।’

स्रोत : बीबीसी