दसैंअघि लगानीकर्तालाई उत्साहित बनाएको सेयर बजार पछि ‘बुलिस ट्रेन्डमै’ जाला ?

image
शनिबार, कात्तिक ८ २०७७

कात्तिक,८ काठमाडौं । दसैंअघि सेयर बजारले सबै लगानीकर्तालाई खुसी बनायो । दसैंअघि सेयर बजार निरन्तर बढ्दा लगानीकर्ताले कमाउन सफल भएका छन् । लगानीकर्ता उत्साहित हुँदा बिहीबार बजार १ हजार ६०६ अंकमा पुगेको छ । दसैं सुरु भएयता बजारमा हरियाली छाएको थियो । बजार बढेपछि बजार पुँजीकरण २१ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ ।

बढ्दो क्रममा रहेको बजारले दसैंपछि पनि गति लिने अपेक्षा लगानीकर्ताको छ । दसैंअघि बढेको बजार पछि पनि लय लिन्छ कि लिंदैन भन्ने चासो लगानीकर्ताको छ । सेयर बजार अहिले ‘बुलिश ट्रेण्डमा’ छ ।बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.५४ अंक बढेको छ । बिहीबार परिसूचकसंगै कारोबार रकममा पनि बढोत्तरी आएको छ ।  बिहीबार मात्र १८७ कम्पनीको ३० हजार ३२८ पटकको कारोबार भएको थियो । सो दिन १ अर्ब ९९ करोड ४५ लाख रुपैयाँ बराबरको ६४ लाख ५७ हजार कित्ता सेयर किनबेच भएको छ ।

सेयर बजार बुलिश ट्रेण्डमा रहेको अवस्था छ । यसले गर्दा लगानीकर्ताको विश्वास पनि बढाएको छ । यसले आगामी दिनमा सेयर बजार निरन्तर बढ्ने संभावना पनि देखिन्छ । यस्तै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर प्रक्रिया थाल्न दवाव दिइरहेको छ ।

केही बैंकबीच मर्जरमा जानका लागि छलफल पनि भइरहेको छ । मर्जरले पनि बजारलाई गति दिने अनुमान गर्न सकिन्छ । यद्यपी यो अनुमान मात्र हो । बजार यस विपरित पनि जान सक्छ । सेयर बजार बढेसंगै कारोबार रकममा पनि वृद्धि भएको छ ।