असोज,२० काठमाडौं । चर्चित हाँस्यकलाकार हरिवंश आचार्यमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। आचार्यमा मंगलबार कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।उनले सामाजिक सञ्जाल फेसबुकबाट आफू र श्रीमती कोरोना संक्रमित भएको जानकारी गराएका हुन् ।आचार्य फेसबुकमा लेख्छन् “सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको पीसीआर टेष्ट गरेका थियौं | हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आएको छ ।”
कोरोना पोजेटिभ नतिजा आएतापनि उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।चर्चित हाँस्यकलाकार तथा अभिनेता हरिवंश आचार्यको साथमा उनकी पत्नी रमिला आचार्य ।उनले आफू र श्रीमतीसँग सम्पर्कमा रहेका व्यक्तिहरुलाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन सुझाव दिएका छन् ।
“यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं । कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं ।” आचार्यले फेसबुकमा लेखेको स्टाटसमा उक्त कुरा उल्लेख गरेका हुन् ।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक मिडिया ब्रिफिङ्गमा काठमाडौं उपत्यकामा १ हजार १७ सहित देशभर १ हजार ५ सय ५१ जनामा कोरोना पुष्टि भएको बताएको छ ।
आज काठमाडौं जिल्लामा ७८३, भक्तपुरमा ११६ र ललितपुरमा ११८ जनामा कोरोना पुष्टि भएको हो । यो सहित काठमाडौंमा कूल संक्रमितको संख्या २५ हजार ९ सय ९७ पुगेको छ भने भक्पुतरमा २ हजार ६ सय ९३ र ललितपुरमा ३ हजार ३ सय ९७ गरी उपत्यकामा तीन जिल्लामा ३२ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।