प्रधानमन्त्री : एकचोटि राष्ट्रपतिलाई भेटेपछि अध्यादेश फिर्ता लिन्छु....

image
बिहीबार, पौष २ २०७७

पुस,२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकपटक राष्ट्रपतिसँग भेट गरेपछि मात्रै अध्यादेश फिर्ता लिने आफ्नो पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई बताएका छन् ।बुधबार आयोजित स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने प्रतिवद्धता जनाएका थिए । तर, बिहीबार ५ बजेका लागि संवैधानिक परिषदको बैठक डाकिएपछि आक्रोशित देखिएका प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले आजै साँझ ६ बजे डाकिएको क्याबिनेट बैठकबाट संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्रीले प्रचण्डलाई भने,‘एकचोटि राष्ट्रपतिलाई भेटेपछि फिर्ता लिउँला ।’

मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरिसकेपछि राष्ट्रपतिबाट अध्यादेश फिर्ताको औपचारिक निर्णय गर्नुपर्ने हुन्छ ।तर, प्रधानमन्त्रीले अहिलेसम्म अध्यादेश फिर्ता लिन आनाकानी गरिररहेको प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुको आशंका छ । आजको क्याबिनेटले अध्यादेश फिर्ता नलिएमा यो ५ गते बस्ने भनिएको स्थायी कमिटीको बैठक आपतकालीनरुपमा तत्काल बस्न सक्ने एक नेताले बताए ।

यसैबीच, बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर फर्केपछि खुमलटारमा आफू निकटका नेताहरुसँग प्रधानमन्त्रीसँग भएको कुराकानी ब्रिफिङ गरेका छन् । प्रधानमन्त्रीले अहिले पनि अध्यादेश फिर्ता लिन अन्कनाइरहेको प्रचण्डले आफू निकटका नेताहरुलाई बताएका छन् ।तथापि बुधबार ओली र प्रचण्डवीच मिलाप गराउन भूमिका खेलेका घनश्याम भुसाललगायतका स्थायी कमिटीका नेताहरुले भने आजको क्याबिनेटले अध्यादेश फिर्ता हुने विश्वास व्यक्त गरेका छन् ।