राजावादीका कारण गणतन्त्र खतरामा...

image
बिहीबार, मङ्सिर २५ २०७७

मंसिर,२५ बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजावादी र प्रतिगामी शक्तिहरुका कारण गणतन्त्र खतरामा परेको बताएका छन् । पार्टीले बुटवलमा बिहीबार आयोजना गरेको कोणसभामा बोल्दै अध्यक्ष केसीले सत्ता पक्ष र प्रतिपक्षले गणतन्त्रको दुरुपयोग गर्दा राजावादीहरुको पक्षमा जनमत बढेको बताए ।

सत्तापक्ष र प्रतिपक्षकै कमजोरी र भ्रष्टाचारमा मिलेमतोका कारण प्रतिगमनको खतरा रहेको केसीको भनाइ थियो । भारतलाई इंगित गर्दै उनले नेपाललाई हिन्दु राज्य बनाउने षड्यन्त्र भइरहेकाले गणतन्त्रवादी शक्ति एक ठाउँमा उभिनु पर्नेमा जोड दिए ।

नेताहरुको आर्थिक हैसियत विना उद्योग, व्यापार आकाशिएको भन्दै उनले सम्पत्ति छानविन गर्नुपर्ने माग गरे ।सो पार्टीकी प्रदेश सांसद तारा जीसीले संघीय संरचना देशले धान्न नसक्ने बताउँदै ऋण खोजेर संघीयता टिकाउन नसकिने बताइन् । संघीयताकै कारण राष्ट्रियता कमजोर र संकटमा परेको उनको तर्क थियो ।