माघ, २ काठमाडौं । काठमाडौंमा आज चिसो बढेको छ।हिजो अस्तिभन्दा न्यूनतम तापक्रम खासै नघटे पनि बिहानैदेखि आज काठमाडौं उपत्यकामा चिसो छ।काठमाडौंमा शुक्रबार बिहानको न्युनतम तापक्रम ५.५ डिग्री सेल्सियस छ। बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ६.८ डिग्री थियो।बादलले आकाश ढाकेपछि काठमाडौं धुम्म छ।
‘घाम नलागेकोले चिसो भएको हो,’ मौसम पूर्वानुमान महाशाखा मौसमविद् विभूति पोखरेलले भनिन्, ‘आज दिनभर घाम लाग्ने सम्भावना कम छ। घाम लागिहाले पनि मधुरो हुनेछ। ’उनकाअनुसार दक्षिणपूर्वी अरब सागर तथा पूर्वी बिहारमा न्यूनचापीय क्षेत्र बनेको र त्यहाँबाट म्वोइस्चर आइरहेकोले चिसो बढेको हो।‘आज दिनभर नै चिसो हुन्छ। तराई क्षेत्रमा हुस्सु लाग्ने र उच्च हिमाली क्षेत्रमा हिमपातको हुन्छ,’ उनले भनिन्।पानी पर्ने सम्भावना भने नरहेको उनले बताइन्। मौसममा सुधार हुन केही दिन लाग्नेछ।
कुहिरोले गर्दा आन्तरिक उडान ठप्प
काठमाडौंसहित तराईका जिल्लामा बाक्लो कुहिरो लागेकाले भिजिबिलिटी कम भएकाले आन्तरिक उडान ठप्प भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत विमानस्थलमा आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन् ।
मौसमविद विभूति पोखरेलका अनुसार अहिले तराईका भूभागहरुमा बाक्लो कुहिरो देखिएको छ । काठमाडौं उपत्यका र पश्चिम पहाडी भूभागहरुमा पनि बादल लागेको छ ।
‘काठमाडौंमा यस्तो अवस्था आज दिउँसो पनि कायम रहन्छ, जसका कारण चिसो बढेको महसुस हुन्छ,’ मौसमविद पोखरेलले भनिन् । काठमाडौंको भिजिबिलिटी अपराह्न २-३ बजेपछि मात्रै केही सुधार हुनसक्ने उनले बताइन् ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ २ गते (शुक्रबार)
दिउँसो : प्रदेश नं १, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ। सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती : प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागहरुमा आंशिक बदली रहने देखिन्छ।गण्डकी प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।
माघ ३ गते (शनिबार)
दिउँसो : प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रहने छ भने प्रदेश २ , बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ र बाँकि प्रदेशमा सामान्यतया सफा रहने देखिन्छ। प्रदेश नं १ का एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।
राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ। । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का बर्षा र उक्त प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
माघ ४ गते (आइतबार)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का बर्षा र उक्त प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ। । प्रदेश नं १ , गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का बर्षा र उक्त प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।