१० लाख रुपैयाँ बोकेर दुवई उड्न लागेका व्यक्ति पक्राउ....

image
आइतबार​, माघ १८ २०७७

माघ,१८ काठमाडौं । १० लाख रुपैयाँ बोकेर त्रिभुवन विमानस्थलबाट दुवई प्रस्थान गर्न लागेका एक व्यक्ति पक्राउ परेका छन् ।शुक्रबार नेपाल एयरलाइन्सको उडानबाट दुवई जान लागेका कलंकीका आशिष खाती (क्षेत्री) लाई त्रिभुवन विमानस्थाल कार्यालयबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनले ह्‍याण्ड व्याग (सुटकेश) भित्र १ लाखका १० वटा विटा बोकेका थिए ।

प्रहरीले अवैध रुपमा लुकाई छिपाई बाहिरी मुलुकतर्फ रकम लैजान लागेको थाहा पाएपछि खातिलाई थप अनुसन्धान एवं कानूनी कारबाहीको लागि आइतबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको बताएको छ ।

नेपाल राष्ट्र बैंकले नेपाली मुद्रा तथा विदेशी विनिमयको ओसार पसारमा नियन्त्रण गर्ने प्रयोजनका लागि विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ को अधिकार प्रयोग गरी २०७५ चैत २६ मा एक सूचना जारी गरेको छ ।

उक्त सूचनाअनुसार नेपाली वा विदेशी नागरिक अन्य मुलुकमा जाँदा र आउँदा प्रतिव्यक्ति नेपाली रुपैंया ४ हजार भन्दा बढी साथमा लैजान वा ल्याउन पाइने छैन ।

त्यस्तै नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा ५ हजार अमेरिकी डलर वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा भन्दा बढी साथमा ल्याएको बखत भन्सार घोषणा गरी प्रमाणित गरेको हुनुपर्नेछ ।

थप सूचना हेर्नुहोस् ।