फागुन,१६ काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था क्रमिक सुधार हुन थालेको छ । गएको शुक्रवार बिहान मष्तिष्कघात भइ नर्भिक अस्पतालमा भर्ना भएका नेता जोशीको सघन उपचार कक्ष (आईसीयू) को भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । शनिवारको तुलनामा आइतवार उनको स्वास्थ्य अवस्थामा निकै सुधार देखिएको उपचारमा संलग्न न्युरो सर्जन डाक्टर राजीव झाले बताए ।
डा. झाका अनुसार जोशीले दाहिने हात र खुट्टा चलाउन थालेका छन् । जोशीलाई आइतवार बिहानदेखि नै बेहोस पार्ने औषधि दिन छाडिएको छ तर पनि उनले आँखा भने खोलेका छैनन् ।
जोशीको टाउकोमा जमेको रगत र रक्तमिश्रित पानीसमेत लगभग सफा भएको पाइएको छ । जोशीको अवस्था अझै खतरामुक्त भने नरहेको डा. झाले बताए ।