माघ, २० काठमाडौं । डडेल्धुराको अजयमेरु गाउँपालिका कृषक लक्ष्मी पाठक मौरीपालन व्यवसायवाट छोटो समयमै आम्दानी हुँदा दङ्ग देखिन्छन् । तीस घार मौरीपालन गरिरहेका उनको वर्षमा झण्डै रु दुई लाख ५० हजार आम्दानी हुन्छ । “यो व्यवसायवाट सन्तुष्ट छु”, उनले भने, “घरपरिवारका सबै सदस्य यसै व्यवसायमा लाग्दा बेरोजगार भएर बस्नु परेको छैन ।”
उत्पादित मह बजारमा प्रतिकिलो रु ८०० देखि एक हजारसम्म बिक्री हुने गरेको पठकले बताउनुभयो । आलिताल गाउँपालिका–४ जालटुडाकी पुनादेवी कामी पनि व्यावसायिक मौरीपालनमा लागेका हुन् ।
वर्षौंदेखि आफूहरुसँग भएको परम्परागत सीपले गुजार गर्न नसकिने भएपछि यो पेशा त्यागेर मौरीपालन व्यवसायमा रोज्दा आम्दानी पनि भएको उनको अनुभव छ । “कृषि ज्ञान केन्द्र कार्यालयले सञ्चालन गरेको युवा लक्षित कार्यक्रमबाट रु एक लाख ८० हजार रकम अनुदान पाएपछि व्यावसायिक मौरीपालन गर्ने हौसला बढ्यो”, उनले भने ।
आगामी दिनमा मह उत्पादन वृद्धि गर्दै जाने उनको लक्ष्य छ । पछिल्ला वर्षमा डडेल्धुरामा व्यावसायिक मौरीपालनमा आकर्षण बढेसँगै कृषको आम्दानी पनि भइरहेको छ । यो व्यवसायले थौरै भए पनि स्वरोजगारको अवसर सिर्जना गर्न थालेको स्थानीय कृषकको भनाइ छ ।