डा. केसीको अनशन स्थगित....

image
बुधबार, फागुन १२ २०७७

फागुन,१२ काठमाठौं । नागरिक अभियन्ता डा. गोविन्द केसीले फागुन १२ गते सुरु गर्ने भनेको २० औं अनशन स्थगित गरेका छन् ।संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सच्याएर संविधान रक्षाको माग गर्दै उनले फागुन १२ गतेदेखि अनशन बस्ने घोषणा गरेका थिए ।

स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारको माग गर्दै विगत केही वर्षदेखि अनसन बस्दै आएका डा.केसीले आज एक विज्ञप्ति जारी गर्दै सत्याग्रह स्थगित भएको जानकारी दिएका हुन् । जारी विज्ञप्तिमा भनिएको छः ‘तत्कालका लागि संविधानमाथि प्रधानमन्त्री केपी ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकाले हामीले आज फागुन १२ देखि शुरु गर्ने भनेको सत्याग्रह स्थगित गरेका छौं।’

प्रधानमन्त्रीले संविधानमाथि गरेको प्रहारलाई सर्वोच्च अदालतले निस्तेज तुल्याइदिएकाले सत्याग्रह स्थगित गरिएको केसीले बताएका छन् । तर आफूसँग विगतमा भएका सम्झौता कार्यन्वयन नभएसम्म सत्याग्रह अभियान जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने अभियान निरन्तर रहने केसीले उल्लेख गरेका छन् ।

केसीले प्रधानमन्त्री ओलीले राज्य कब्जाको प्रयासस्वरुप संवैधानिक निकायहरुमा गलत नियुक्ति गरेको भन्दै त्यसलाई सच्याउन माग गरेका छन् । ‘संवैधानिक निकायमा गलत नियुक्ति हुँदा देशले कत्रो मूल्य चुकाउनुपर्छ भन्ने त यसअघि लोकमान सिंह कार्की प्रकरणमा हामी सबैले देखिसकेका छौं । ती निकायहरुको गरिमा फर्काउन अब सही बाटोबाट योग्य व्यक्तिहरुको नियुक्ति गर्नुको विकल्प छैन’ उनले भनेका छन् ।