जेठ,२७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छन्। मन्त्री नियुक्त भएलगतै उनले आफ्नो सम्पति विवरण प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बुझाएका हुन्।
सार्वजनिक विवरण अनुसार मन्त्री तामाङ र उनकी श्रीमतीको नाममा गरी विभिन्न ठाउँमा १४ ठाउँमा जग्गा रहेको छ।
तामाङको सिन्धुपाल्चोकको सिन्धुकोट र मेलम्चीमा गरी झन्डै १८ रोपनी जग्गा रहेको छ भने श्रीमती उषाकलाको नाममा काठमाडौंको जोरपाटीमा ३ आनामा बनेको अढाई तले घर सहित पूर्वका विभिन्न जिल्लामा ११ स्थानमा जग्गा रहेको छ।
यस्तै तामाङको काठामाडौंमा ६ आना २ पैसा १ दाम जग्गा रहेको छ। यस्तै तामाङको २२ तोला सुन रहेको छ। अघिल्लो पटक कानून मन्त्री भएका बेला उनले ३० तोला सुन भएको विवरण सार्वजनिक गरेका थिए।
यस्तै तामाङको एभरेष्ट बैंक सिंहदरबार शाखामा तलब भत्ता बापतको २ लाख १६ हजार १ सय २५ रुपैयाँ रहेको भने श्रीमती राईको दुईवटा बैंकमा १ लाख ६ हजार २ सय २५ रुपैयाँ रहेको छ । यस्तै तामाङको विभिन्न कम्पनीमा ५ लाख रुपैयाँको शेयर रहेको छ भने श्रीमती राईको नाममा १५ लाख रुपैयाँको शेयर रहेको छ।
यस्तै राईले विभिन्न बैंकबाट ऋण लिएको र सो मध्ये केही तिरेको बिवरण पनि राखेका छन्। कृषि विकास बैंकमा १६ लाख र अन्यमा १९ लाख ऋण भएको उल्लेख गरेका छन्। यस्तै तामाङसँग एउटा कार र मोटरसाइकल रहेको छ भने श्रीमती राईको पनि एउटा कार रहेको छ । उनले ल्यापटप २ थान र ३ थान मोबाइल रहेको जनाएका छन्।