सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस
पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् । सरकारले घोषणा गरेको
कार्यक्रमअनुसार विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट सबै विषयको
पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने भएका हुन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक घनश्याम अर्यालले दुवै कक्षामा
अध्ययन गर्ने विद्यार्थीले छ वटै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने
जानकारी दिनुभयो । कक्षा ११ र १२ मा विद्यार्थीले तीनवटा अनिवार्य र तीनवटा
ऐच्छिक गरी छ वटा विषय अध्ययन गर्छन् ।
केन्द्रका निर्देशक अर्यालले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई
निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन स्थानीय तहमा बजेट पठाइसकिएको
जानकारी दिनुभयो । अब स्थानीय तहले सामुदायिक विद्यालयमा अध्ययन गर्ने
विद्यार्थी सङ्ख्याका आधारमा रकम निकासा गरेपछि विद्यालयले विद्यार्थीलाई
निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउनेछन् । सरकारले आगामी आर्थिक वर्षको
बजेट वक्तव्यमा कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक
उपलब्ध गराउने घोषणा गरेको थियो ।
सरकारी पाठ्यपुस्तक प्रकाशन गर्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले
अङ्ग्रेजी, नेपाली, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा/गणित गरी तीनवटा
अनिवार्य विषयको पाठ्यपुस्तक प्रकाशन गर्ने गरेको छ । ऐच्छिक विषयको
पाठ्यपुस्तक भने पाठ्यक्रम विकास केन्द्रको अनुमति लिएर निजी प्रकाशनहरूले
निकाल्ने गरेका छन् ।