काठमाण्डौ – यस वर्षको मनसुन अझै कायमै रहेको हुँदा आज र भोलि पनि देशका धेरै ठाउँमा झरी पर्ने मौसमविद्ले बताएका छन् । केहि दिनयता लगातार वर्षाका कारण देशका विभिन्न ठाउँहरू धेरै क्षति भएको छ । दुई दिनयताको वर्षा यस वर्षकै अत्याधिक भएको मौसम विभागले जनाएको छ ।
लगातार ठूलो वर्षा भइरहेकाले तराईका जिल्लाहरू नवलपरासी, रुपन्देही, कपिलवस्तु, सिन्धुली, चितवन र धनुषाका विभिन्न भागहरू डुवानमा परेका छन् । मौसमविद्का अनुसार अझै केही दिन पानी पर्ने सम्भावना रहेको छ । यस्तै पहाडी भेगहरूमा बाढी पहिरोको उच्च जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।
तराईको भू–भाग नजिकै रहेको न्यूनचापीय रेखा तल नझरेसम्म मौसम नखुल्ने मौसमविद्ले बताएका छन् । आज प्रदेश-१, गण्डकी प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज दिउँसो ठूलो पानी पर्ने सम्भावना छ ।
राति प्रदेश-१, वाग्मती, गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । ।