मकवानपुर, १५ कार्तिक/ मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. ४ मा नेपाली काङ्ग्रेसको नयाँ पार्टी कार्यालय उद्घाटन कार्यक्रममा भिमफेदी गाउँपालिकाको सबै वडाहरूबाट विभिन्न पार्टी परित्याग गरि करिब २ सय जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । नजिकिँदै गरेको शुभदिपावली तथा छठको पावन अवसर पारेर सांस्कृतिक कार्यक्रमसहित पार्टी प्रवेश गरेका हुन् ।

कार्यक्रमको सुरूवात युवाहरूको खुसीका साथ बाईक र्याली भिमफेदी देखि भैंसे र चिउरीबगैंचा कार्यक्रम स्थलमा आएर कोणसभामा परिणत भएसँगै सांस्कृतिक कार्यक्रमको धुनमा कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाली काङ्ग्रेस मकवानपुरका जिल्ला सभापति इन्द्रबहादुर बानियाँले नाचेर कार्यक्रमको रौनकता बढाउनु भएको थियो ।

कार्यक्रममा पार्टीका ७० जना पुराना कार्यकर्ता तथा ज्येष्ठ नागरिकहरूलाई प्रमुख अतिथि तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले खादा तथा कदर-पत्र सहित सम्मान गरिएको थियो ।
"देश र जनताको निम्ति नेपाली काङ्ग्रेस सदैव अग्रसर रहने र आगामी चुनावमा नेपाली काङ्ग्रेसले सबैलाई पराजित गरि अगाडी बढ्ने", बानियाँले बताउनुभयो ।

नेपाली काङ्ग्रेस भिमफेदी गाउँपालिकाका सचिव सुमित्रा थिङले संचालन गर्नुभएको कार्यक्रममा सभाध्यक्ष तथा नेपाली काङ्ग्रेस भिमफेदी गाउँपालिकाका सभापति सञ्जिव श्रेष्ठ, अतिथिहरू निवर्तमान नगरप्रमुख आन्नदराम पराजुली, नेपाली काङ्ग्रेस भिमफेदी गाउँपालिका वडा नं. ४ का सभापति सरोज थापा, तरूण दलका जिल्ला सभापति ईश्वर पाठक, नेपाली काङ्ग्रेसका जिल्ला सचिवद्वय बुद्ध लामा, आन्नद कठायत, जिल्ला महिला संघका अध्यक्ष निलम देवकोटा,तरूण दल गाउँपालिका सभापति मित्र विन्दु सिञ्जाली, तरूण दल भिमफेदी गाउँपालिका वडा नं. ४ का सभापति साधुराम घागा मगर, भिम लामालगायतको उपस्थिति रहेको थियो ।