साझा र विवेकशीलबीच फेरि एकता प्रयास

image
आइतबार​, आषाढ २८ २०७७

असार,२८ पोखरा । फुटको डेढ वर्षपछि साझा पार्टी र विवेकशील नेपाली दल फेरि एकता गर्ने प्रयासमा जुटेका छन् ।

साझा पार्टीको आइतबार बसेको केन्द्रीय कमिटीकाे बैठकले पार्टी एकताका लागि सम्वाद समिति गठन गरेको छ । बैठकमा पार्टीमा एकताको विषयमा फरक मत राख्दै आएका प्रवक्ता सूर्यराज आचार्य र केन्द्रीय सदस्य मुमाराम खनाल भने बैठकमा सहभागी भएनन् ।

नेताहरुका अनुसार पार्टी एकता वार्ताका लागि विवेकशील नेपाली दलले पनि कार्यदल गठन गरिसकेको छ ।

साझा र विवेकशीलबीच ११ साउन २०७४ मा पनि पार्टी एकता भएको थियो । २०७४ को चुनावमा एक्ला एक्लै प्रतिस्पर्धामा उत्रिएका दुई दलले प्रदेश ३ को प्रदेशसभामा (हालको बागमती प्रदेशसभा) मा समानुपातिकतर्फ तीन सिट पाउन सफल भएका थिए । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको नेतृत्व तहकै व्यक्तिहरु नेतृत्व नै पराजित भएका थिए ।

२७ पुस २०७५ मा यो पार्टी फुट्यो । उज्ज्वल थापा नेतृत्वको समूहले फेरि विवेकशील नेपाली दल ब्यूँतायाे  भने रवीन्द्र मिश्र समूह साझा पार्टीमा नै रहे । १४ मंसिर २०७६ मा कास्की २ मा भएको उपचुनावमा दुबै दलले नराम्रो हार व्यहोरे । अन्यत्र पनि अपेक्षाअनुसार मत नआएपछि फेरि एकताको बहस सुरु भयो ।

साझा पार्टीको फागुन १५ देखि १७ गतेसम्म लुम्बिनी भेलाले मन र विचार मिल्ने पार्टीसँग एकता गर्ने निर्णय गरेको थियो । त्यही निर्णयलाई टेकेर साझाले विवेकशील नेपाली दलसँग पार्टी एकताका लागि अनौपचारिक सम्वाद थालेको थियो ।

त्यसअनुसार विवेकशीलले राजनीतिक सम्वाद समितिलाई वार्ताको जिम्मा दिएको छ । महासचिव निर्देश सिलवालको संयोजक रहेको समितिमा रञ्जु दर्शना र प्रदेशसभा सदस्य रमेश पौडेल सदस्य छन् । ‘हालसालै अनौपचारिक कुराकानी भएपछि हामीले उहाँहरुलाई वार्ता गर्नुस् भनेका छौं । तर सम्वाद सुरु भएको छैन’ विवेकशीलका एक नेताले भने ।

साझा पार्टीले पनि आइतबार राजनीतिक सम्वाद समिति बनाएको छ । ‘समान विचार भएका विवेकशीलसहितका पार्टी र समूहसँग सम्वाद गर्ने गरी समिति बनेको हो’ एक नेताले भने ।

समितिमा केशव दाहाल र समिक्षा बास्काेटाको नाम पक्का भएको छ भने तेस्रो सदस्य टुंगो लागेको छैन । पार्टी संयोजक रवीन्द्र मिश्रले किशोर थापा र किरणकृष्ण श्रेष्ठ मध्ये एक तोक्नेछन् ।

आचार्य र खनाललाई धन्यवाद

आइतबार बसेको साझा पार्टीको बैठकले डा. आचार्य र खनाललाई धन्यवाद दिने निर्णय गरेको छ । दुबै पार्टीमा असन्तुष्ट थिए र शनिबार बसेको सचिवालय तथा आइतबार बसेको केन्द्रीय समितिकोे बैठकमा सहभागी भएनन् । अब दुबै पार्टीको संगठनबाट अलग भएका छन् ।

साझा पार्टीको आइतबार बसेको केन्द्रीय समिति बैठकले आचार्य र खनाललाई अहिलेसम्म गरेको योगदानका लागि धन्यवाद दिने निर्णय गरेको छ ।

स्रोतका अनुसार लुम्बिनी भेलामा फरक मत राखेका खनाल र आचार्यले पार्टीको संरचना भत्काएर संयोजक मात्र राख्ने प्रस्ताव गरेका थिए । तर पार्टी नेतृत्व अहिलेको संरचना कायम राख्दै एकता गर्दै जाने पक्षमा उभिएपछि उनीहरु असन्तुष्ट बनेका थिए ।

‘पार्टी कसरी बनाउने भन्नेमा नै हाम्रो फरक मत रह्यो’ साझाका एक नेताले अनलाइनखबरसँग भने, ‘उहाँहरुले पार्टीको संरचना भत्काएर संयोजक मात्र राखौं भन्नुभयो । अर्को प्रस्ताव एकीकरण, ध्रुवीकरण र पार्टी निर्माण भनेर जानुपर्छ भन्ने आयो । र पार्टीको सचिवालय र केन्द्रीय कमिटीले एकीकरण, ध्रुवीकरण र पार्टी निर्माण भनेर जानुपर्छ भनेर निर्णय गरेको छ ।’

यससँगै फरक मत राख्ने डा. आचार्य र खनाललाई अहिलेसम्म गरेको योगदानका लागि धन्यवाद दिने निर्णय गरेको छ । ‘उहाँहरुले पार्टीको संरचनाबाट बहिर बसे पनि बैकल्पिक राजनीतिको मिसनभन्दा बाहिर हुन्नौं भन्नु भएको छ’ साझा पार्टीका एक नेताले बताए ।