एफएनसीसीआई चुनाव : ढकाल र प्रधान प्यानलसहित भिड्ने निश्चित

image
मङ्गलबार, आषाढ ३० २०७७

असार, ३० काठमाडौं । उद्योगी व्यवसायीहरुको संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी तातेको छ । आगामी साउन २५ र २६ गते हुने महासंघको अधिवेशनमा दुई उद्योगी/व्यवसायीहरु प्यानलले नै लिएर चुनावी मैदानमा उत्रिने भएका छन् ।

महासंघको वपरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने वैधानिक व्यवस्था छ । सो व्यवस्था अनुसार साउन २६ पछि हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघको अध्यक्ष चयन हुनेछन् । त्यसपछि अन्य पदका लागि भने निर्वाचन हुनेछ ।

अर्को कार्यकालका लागि अध्यक्ष हुने लक्ष्यसहित हालका दुई उपाध्यक्षहरु किशोर प्रधान र चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षमा चुनाव लड्दैछन् । उनीहरुले लकडाउन हुनु अगावै उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

अब उनीहरु आफू-आफू मात्रै नभएर प्यानलसहित चुनावमा जाने भएका छन् । ढकाल समूहको प्यानल मंगलबार बुधबार औपचारिक रुपमा घोषणा हुँदैछ । उता प्रधान समूहको प्यानल घोषणको समेत तयारी भइरहेको छ ।

कसको प्यानलमा को-को ?

ढकाल समूहले बुधबार कुन पदमा कसलाई उठाउने भनेर औपचारिक रुपमै घोषणा गर्दैछ । यसका लागि यस समूहले बुधबार दिउसो बालुवाटरको एक पार्टी प्यालेसमा घोषणा सभाको आयोजना गरेको छ ।

ढकाल समूहबाट जिल्ला-नगरउपाध्यक्षमा गुणनिधि तिवारीलाई उठ्दैछन् । उनी हाल महासंघको प्रदेश ५ कमिटीको अध्यक्ष छन् । वस्तुगत उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ नै दोहोरिने भएका छन् । यसैगरी एशोसिएट उपाध्यक्षमा ढकाल समूहले रामचन्द्र संघाईलाई उम्मेदवार बनाउने भएको छ ।

उता प्रधान समूहबाट जिल्ला-नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी दिनेछन् । उनी महासंघको प्रदेश ३ कमिटीका अध्यक्ष हुन्। प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा भने अटो व्यवसायी अञ्जन श्रेष्ठ उठ्ने भएका छन् भने एशोसिएट उपाध्यक्षका लागि शौरभ ज्योति तयार भएका छन् ।ढकाल समूहले बुधबार नै प्यानल घोषणा गर्ने भए पनि प्रधान समूहले भने अहिले नै प्यानल घोषणाका लागि मिति तय गरेको छैन।