साउन, १४ काठमाडौं । कमलादीबाट बरामद भएको साढे १४ किलो चाँदी र आधा किलो सुन सम्बन्धी प्रकरणको अनुसन्धान गर्ने जिम्मेवारी काठमाडौं प्रहरी परिसर, टेकुबाट खोसिएको छ ।प्रहरी प्रधान कार्यालय, नक्साल र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले प्रकरणको थप अनुसन्धान गर्ने जिम्मेवारी महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरलाई दिएको हो ।
काठमाडौं प्रहरीको लापरबाहीले १४ किलो चाँदी र आधा किलो सुन बोकेको गाडीका साथै अभियुक्त भाग्न सफल भएको निष्कर्षसहित अपराध महाशाखालाई थप अनुसन्धानको जिम्मेवारी दिइएको एक उच्च प्रहरी अधिकृतले बताए।महाशाखाका प्रमुख एसएसपी दिपक थापाले अनुसन्धान भइरहेको बताए पनि विस्तृतमा बताउन चाहेनन् ।
रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले भने थापाको नेतृत्वमा प्रहरीको कमजोरीबारे छानविन गर्न समेत अर्को समिति बनाएका छन् ।बुधबार दरबारमार्गमा प्रहरी टोलीसँग अपराधिक समूहको जम्काभेट भएको थियो । त्यसक्रममा सुन जस्तो देखिने धातुको झोला फ्याँकेर स्कर्पियो भागेको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भनेका छन् ।