अर्थमन्त्री खतिवडाको ‘काउन्टडाउन’ सुरु, ७२ घण्टामा पदमुक्त हुने

image
बिहीबार, भाद्र १८ २०७७

भदौ,१८ काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको ६ महिने कार्यकाल सकिन आँटेको छ । अब उनी आइतबार राति १२ बजेसम्म मात्रै अर्थमन्त्री रहन पाउनेछन् । खतिवडाको ७२ घण्टे ‘काउन्टडाउन’ सुरु भएको छ ।

डा. खतिवडा ०७६ साल फागुन २१ गते अर्थमन्त्रीमा पुनः नियुक्त भएका थिए । उनले २१ गते नै सपथ-ग्रहण गरेका थिए । सपथ ग्रहण गरेको दिनदेखि गणना गर्दा भदौ २१ गते राति १२ बजे उनको ६ महिने पदावधि समाप्त हुन्छ । संविधानअनुसार संसदको सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न मिल्दैन ।डा. खतिवडाले केपी ओली नेतृत्वको सरकारमा करिब अढाइ वर्ष अर्थमन्त्रीका रुपमा काम गरे । राष्ट्रियसभामा मनोनित नहुँदै अर्थमन्त्री बनेका उनी दुईवर्षे कार्यकाल पूरा गरेर गत फागुनमा बाहिरिएका थिए ।

सांसद पद समाप्त भएपछि उनले फागुन २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसको भोलिपल्टै २१ गते उनी पुनः अर्थमन्त्रीमा नियुक्त भए । अब पुनःनियुक्तिको ६ महिने कार्यकाल पनि समाप्त हुने समय आइपुगेको छ ।

संविधानतः मन्त्री पदमा बस्न नमिल्ने भएकाले अर्थमन्त्री खतिवडाले अबको दुई दिनभित्र राजीनामा दिने सम्भावना रहेको उच्च स्रोतले  बतायो ।

प्रधानमन्त्री ओलीले अर्थमन्त्रीका रुपमा खतिवडालाई निरन्तरता दिने प्रयास गरे पनि पार्टीभित्रको शक्ति सन्तुलनका कारण प्रधानमन्त्री ओली अल्पमतमा परेका छन् । ओलीले राष्ट्रियसभामा रहेको रिक्त पदमा खतिवडालाई नियुक्त गर्ने र अर्थमन्त्रीमा निरन्तरता दिने ईच्छा गरे पनि पार्टी उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा जाने चाहना प्रकट गरेका छन् ।

आज दिउँसो ३ बजे बस्ने सचिवालय बैठकले बहुमतका आधारमा वामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय गर्दैछ । वामदेवलाई राष्ट्रियसभामा लैजाने औपचारिक निर्णय हुनु भनेको अर्थमन्त्री खतिवडाको बहिगर्मन निश्चित हुनु हो ।

बुधबार राति बालुवाटारमा प्रधानमन्त्री ओली र वामदेव गौतमवीच छलफल भएको थियो । सो छलफलमा प्रधानमन्त्री ओलीले अहिले युवराजलाई नै राष्ट्रियसभामा लैजाऔं, तपाईलाई अर्को विकल्प खोजौंला भन्ने गौतमसमक्ष राखेका थिए । तर, गौतमले प्रधानमन्त्रीको प्रस्ताव मानेनन् ।

भदौ १३ गते प्रधानमन्त्री ओलीले डोल्पाबाट प्रतिनिधिसभाको उपचुनाव लडाउने प्रस्ताव गौतमसँग राखेका थिए । तर, गौतमले राष्ट्रियसभामै लैजानुपर्ने अडान राखे ।
बुधबार वामदेवसँग छलफल गर्नुपूर्व प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँग पनि युवराज खतिवडालाई राष्ट्रियसभामा मनोनित गर्नेबारे छलफल गरेका थिए । तर, प्रचण्डले पनि यसबारे पार्टीले नै निर्णय गर्नुपर्ने बताए ।

नेकपा सचिवालयले यसअघि नै वामदेवलाई राष्ट्रियसभामा पठाउने निर्णय गरिसकेको छ । ९ सदस्यीय सचिवालयमा वामदेवको पक्षमा बहुमत छ ।महासचिव विष्णु पौडेलसमेत वामदेवकै पक्षमा उभिएका छन् । प्रधानमन्त्रीको पक्षमा ईश्वर पोखरेलमात्र छन् । बादल कतै खुलेका छैनन् ।

बुधबार राति बालुवाटारमा प्रधानमन्त्रीसँग भएको छलफलमा उपाध्यक्ष गौतमले डा. खतिवडालाई संविधानले नै राष्ट्रियसभामा लैजान नदिने बताएका थिए ।एकचोटि गोला तानेर दुई वर्षे कार्यकाल पूरा गरिसकेका खतिवडालाई अब राष्ट्रियसभामा लैजाँदा उनको कार्यकाल ८ वर्षभन्दा बढी हुने भन्दै वामदेवले खतिवडालाई निरन्तरता दिन नमिल्ने बताएका थिए ।

वामदेव गौतमले आफूलाई राष्ट्रियसभाको सदस्य मात्रै नभई उपप्रधानमन्त्री र अर्थमन्त्री बनाउनुपर्ने माग गरेका छन् । जब कि संविधानले एकपटक चुनाव हारेको व्यक्ति संसदको सोही कार्यकालमा मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्था छ ।नेकपाका एक नेता भन्छन्,’त्यसैले गौतमजी राष्ट्रियसभाको सांसद त बन्नु होला, तर मन्त्री बन्न सक्नुहुन्न ।’

प्रधानमन्त्रीले के गर्लान् ?

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अडानबाट हत्पती पछि हट्नेखालका नेता होइनन् । प्रधानमन्त्रीले आफूले रोजेको अर्थमन्त्री राख्न पाउने संसदीय प्रचलनसमेत रही आएको छ । यो अवस्थामा पार्टीले जेसुकै भनेता पनि युवराज खतिवडालाई नै राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र उनैलाई अर्थमन्त्रीमा निरन्तरता दिने सुविधा पनि प्रधानमन्त्री ओलीसँग छ ।

तर, पार्टीमा बारम्बार पेलान खेप्दै आएका प्रधानमन्त्रीले डा. खतिवडाका लागि यस्तो जोखिम उठाउलान् त ? कि सम्झौतामा आउलान् ? सम्भवतः यो प्रश्नको जवाफ आज बस्ने सचिवालय बैठकबाट आउनेछ ।

खतिवडा नै अनिच्छुक ?

त्यसो त प्रधानमन्त्री ओलीले आफू निकटस्थहरुलाई बताएअनुसार स्वयं अर्थमन्त्री खतिवडा पदमा निरन्तरत रहन अनिच्छुक देखिएका छन् । पार्टी नेताहरुवीच विवादमा पर्ने गरी आफू अगाडि आउन नचाहेको जवाफ अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री ओलीलाई दिएको स्रोतले  बतायो ।

प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘युवराजजीले म विवादमा पर्न चाहन्न भनिरहनुभएको छ, राष्ट्रियसभामा जान मान्नु भएको छैन ।’