कपिलवस्तुमा थप ३४ जनामा कोरोना, कर्मचारी र शिक्षक पनि संक्रमित

image
मङ्गलबार, श्रावण १३ २०७७

साउन,१३ बुटवल । मंगलबार कपिलवस्तुको शिवराज नगरपालिकामा ३२ जना र कृष्णनगरका २ जना गरी ३४ जनामा कोरोना संक्रमण देखिँदा समुदायमा कोरोना फैलिएको आशंका गरिएको छ ।पछिल्लो समय घरबाहिर ननिस्केका व्यक्तिमा पनि संक्रमण भएको पाइएपछि स्थानीयमा त्रास उत्पन्न भएको छ ।

मंगलबार कोरोना संक्रमण पुष्टि भएकामा १९ जना हालै विदेशबाट फर्किएका र १३ जना स्थानीय व्यक्ति हुन् । स्थानीय संक्रमितमा शिवराज नगरपालिका वडा नं १ का कर्मचारी, उनका परिवारका सदस्य, एक जना जनप्रतिनिधिका छोरा र दुई जना शिक्षक छन् ।

‘कोरोना पोजेटिभ देखिएकामध्ये केहीको ट्राभल हिस्ट्रीसमेत पाइएको छैन’ शिवराज नगरपालिकाको सुपा देउराली आइसोलेसनका इन्चार्ज जीतबहादुर बिसीले भने ।

शिक्षक र वडा कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि समुदायमा कोरोना फैलिएको हुन सक्ने त्रास नगरवासीमा छाएको चन्द्रौटा बजारका व्यवसायी महादेव पोखरेलले बताए ।

विदेशबाट फर्किएका संक्रमितमध्ये ७ जना होम क्वारेन्टिनमा बसेका थिए भने १२ जना क्वारेन्टिनमा बसेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले जानकारी दिए ।कृष्णनगर नगरपालिकामा देखिएका दुई जना संक्रमित भने स्थानीय विद्यार्थी भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

शिवराज नगरपालिकाको चन्द्रौटा बजार क्षेत्र, शिवपुर, लालपुर, खरेन्द्रपुर र कृष्णनगर नगरपालिकाको बहादुरगञ्जमा समुदायका कोरोना फैलिएको स्थानीयको आशंका छ ।शिवराज नगरपालिकामा यसअघि नै ८ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु क्वारेन्टिनमा नगई समुदायमा घुमफिर गर्दै आएका स्थानीय वासिन्दा दावी गर्छन् ।

पछिल्लो समय शिवराज नगरपालिकाले कक्षा ४ देखि माथिल्लो कक्षाका लागि विद्यालयमा दैनिक ३ घण्टा वैकल्पिक कक्षा चलाएको थियो ।जिल्ला स्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र भगतले अहिले नै समुदायस्तरमा कोरोना फैलिएको मान्न नमिल्ने बताए । जिल्लामा हालसम्म संक्रमितको संख्या ७ सय ९६ पुगेको छ ।