साउन, १० सप्तरी । अस्पतालमा भर्ना भएका एकजना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका १४ जना कर्मचारीहरुलाई क्वारेन्टिनमा राखिएको छ । बिरामीमा कोरोना संक्रमण देखिएपछि शुक्रबार दिउँसोदेखि सिल गरिएको अस्पतालको आकस्मिक कक्ष भने शनिबार विहानदेखि सुरु भएको छ ।
विष खाएर उपचारका लागि ल्याइएका तिलाठी कोइलाडी गाउँपालिका–२ का ५० वर्षीय पुरुषमा शुक्रबार संक्रमण पुष्टि भएको थियो। आकस्मिक कक्षमा उपचार भइरहेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक कक्षमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीसहित १४ जनालाई क्वारेन्टिनमा राखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले बताए ।
डा. झाका अनुसार उनीहरु सबैलाई राजविराजस्थित एक होटेलको क्वारेन्टिनमा राखिएको छ । शुक्रबार बिहानैदेखि ड्युटीमा खटिएका उनीहरुले राति क्वारेन्टिन गर्दा आफूहरुलाई खानासमेत नदिइएको गुनासो गरेका छन् ।
राजविराज–६ निवासी ७२ वर्षीय वृद्धको मृत्यु भएपछि उनको पसलमा काम गर्ने दुई जना कामदार पनि संक्रमित भएको पुष्टि भएको थियो । संक्रमित एकजना कामदारकी पत्नी पनि संक्रमित भइन् ।
उनी गजेन्द्रनारायण सिंह अस्पतालमा नर्स पदमा कार्यरत भएका कारण अस्पतालका सबै चिकित्सक, स्वास्थ्यकर्मीको स्वाब संकलन गरी जाँच गर्दा विष खाएका व्यक्तिमा पनि संक्रमण देखिएको थियो ।