कोरोना कारण स्याङ्जाका युवा रोशन श्रेष्ठको साउदी अरवमा ज्यान गयो

image
सोमबार, श्रावण १२ २०७७

 साउन,१२ एजेन्सी । साउदी अरवमा स्याङ्जाका एक युवाको ज्यान गएको छ ।कोरोना सङ्क्रमण भएपछि विगत ३५ दिन देखि उपचाररत स्याङ्जा गल्याङ नगरपालिका वडा नम्वर ८ (साविकको तिन्दावाटे १) का रोशन श्रेष्ठको मृत्यु भएको हो ।

साउदी अरवको दम्माम स्थित सेन्ट्रल हस्पिटलमा उपचाररत ३४ बर्षीय श्रेष्ठको आईतवार निधन भएको हो । उनी नेपालमा लकडाउन हुनु भन्दा एक दिन अगाडी साउदीअरव पुगेका थिए ।

प्रवासमा निक्कै लोकप्रिय रहेको एनए मिडियाका म्यानेजिङ डाईरेक्टर समेत रहेका श्रेष्ठ स्याङ्जा सहयोग समाज लगायतका विभिन्न संघसंस्थामा सक्रिय थिए ।

प्रवासमा रहेका स्याङ्जाका युवाहरुले शुरु गर्न लागेको आँधीखोला कृषि तथा पशुपालन फार्मका सहकोषाध्यक्ष समेत रहनु भएका श्रेष्ठ स्याङ्जा जिल्लामा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको बिकासमा सक्रिय रहेको एनए मिडियाका जनसम्पर्क निर्देशक बालकृष्ण पंगेनीले बताए ।

श्रीमती सहित साउदीमा बस्दै आएका श्रेष्ठ बिदामा घर आएपछि श्रीमतीलाई काठमाण्डौं नै छोडेर साउदी पुगेका थिए ।श्रेष्ठको श्रीमती, आमा र एक जना भाई रहेका छन् ।