कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

image
शुक्रबार​, श्रावण २३ २०७७

साउन, २३ काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट शुक्रबार थप पाँच जनाको मृत्यु भएको छ ।पाटन अस्पतालमा २, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा, विराटनगरको कोशी अस्पताल र वीरगञ्जको गण्डक अस्थायी कोभिड अस्पतालमा १÷१ जनाको मृत्यु भएको हो ।

पाटन अस्पतालको आईसीयूमा सर्लाहीका ४५ वर्षीय पुरुष र रुपन्देही सुनौलीकी ४१ वर्षीया महिलाको कोरोना संक्रमणबाट शुक्रबार बिहान मृत्यु भएको हो ।सर्लाहीका पुरुषलाई कुकुरले टोकेको थियो र, साउन १९ गते अस्पताल भर्ना भएका थिए । आईसीयूमा भर्ना भएका उनको शुक्रबार विहान ८ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।

यस्तै रुपन्देही, सुनौलीकी महिला पनि साउन १९ गते नै अस्पताल भर्ना भएकी थिइन् । पाठेघरको क्यान्सर र निमोनियाको विरामी उनको उपचारका क्रममा शुक्रबार दिउँसो ११ बजेतिर मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए ।

सिराहाका युवकको धरानमा मृत्यु

सिराहाको गोलबजार नगरपालिका–१२ का २१ वर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको थियो ।

सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार मिर्गाैला रोगी उनी डायलासिस सेवा लिन धरान पुगेका थिए । उनलाई केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोशी अस्पतालमा एकजनाको मृत्यु

कोशी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत विराटनगर महानगरपालिका– ९ का ५८ वर्षका पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार विहान मृत्यु भएका उनको दिउँसो कोरोना संक्रमण पुष्टि भएको मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए। विराटनगरकै निजी स्वास्थ्य संस्थामा उपचार नभएपछि शुक्रबार विहान ९ बजेतिर आफन्तले उनलाई कोशी अस्पताल ल्याएका थिए । ‘आइसोलेसनमा राखेर जाँच गर्दा मृत्यु भइसकेको थियो’ डा. दासले भने ‘कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएकाले स्वाब संकलन गरेका थियौं ।’एक सातादेखि ज्वरो र खोकीको समस्या देखिएको उनमा उच्च रक्तचापको समस्या पनि थियो ।

वीरगञ्जमा एकजनाको मृत्यु

वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा शुक्रबार विहान मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ।

वीरगञ्ज–३ छपकैयाका ६५ वर्षका वृद्धको मृत्युपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले जानकारी दिए ।

कोभिड अस्पतालको इमर्जेन्सी कक्षमा उपचारको क्रममा बिहान उनको मृत्यु भएको थियो । उनलाई ४र५ दिन ज्वरो आए पनि ज्वरो ठीक भइसकेको थियो । तर साउन २२ गते राति उनलाई अचानक स्वास लिन गाह्रो भएपछि परिवारका सदस्यले एडभान्स अस्पताल लगेका थिए ।

त्यहाँ चिकित्सकले अक्सिजन दिए पनि काम गरेन । चिकित्सकले आईसीयुमा राखेर उपचार गर्नुपर्ने बताएपछि अटो रिक्सामा राखेर नेशनल मेडिकल कलेज लगिएको थियो । तर नेशनलले पनि भर्ना नलिएपछि अस्थायी कोभिड अस्पताल गण्डकमा लगिएको थियो । चिकित्सकले अक्सिजन दिएर उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो ।

योसँगै साउनमा मात्रै पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । कोरोना संक्रमणबाटै वीरगञ्जका एक पुरुषको काठमाडौंमा मृत्यु भएको छ ।

वीरगञ्जमै उपचारको क्रममा बाराका २ जना र रौतहटका १ जना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जमै एउटा वेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

शुक्रबार साँझसम्म  नेपालमा  कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणमा ७० जनाको मृत्यु  भएको उल्लेख छ । उक्त तथ्यांकमा शुक्रबार नै वीरगञ्ज, विराटनगर र पाटन अस्पतालमा भएको रुपन्देही सुनौलीकी महिलाको मृत्यु समावेश छैन ।

४६४ जना संक्रमित

पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ९२६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ ।यससँगै कुल संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । उनीहरुमध्ये ७० जनाको मृत्यु भएको छ भने १५ हजार ८१४ जना निको भएका छन् ।