हेलिकप्टरमार्फत पर्सागढीका मेयर थप उपचारका लागि काठमाडौंकाे मेडिसिटी अस्पतालमा

image
सोमबार, श्रावण २६ २०७७

साउन,२६ वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । मेयर यादवलाई श्री एयरलाइन्सको हेलिकप्टरमार्फत सोमबार दिउँसो काठमाडौंको मेडिसिटी अस्पताल लगिएको गिरिराज कँडेल दिपेनले जानकारी दिए ।श्वासप्रश्वासमा समस्या देखिएपछि उनी गत शुक्रबार वीरगञ्जको तराई अस्पतालमा भर्ना भएका थिए ।

शरीरमा अक्सिजनको मात्रा कम भएपछि उनलाई अक्सिजन दिएर तराई अस्पतालमा उपचार चलिरहेको थियो । स्वास्थ्य अवस्थामा सुधार पनि आइ नै रहेको अस्पताल स्रोतले जनाएको छ ।वीरगञ्जमा कोरोना परीक्षण गराउँदा मेयर यादवको रिपोर्ट नेगेटिभ आएको थियो । तर तराई अस्पतालले भने दुवै फोक्सोमा निमोनियाको संक्रमण देखिनु कोरोनासँग मिल्दोजुल्दो लक्षण भएको बताएको छ ।अस्पतालका मेडिसिन विभाग प्रमुख डा. रोशन कुर्मीका अनुसार मेयर यादवको स्वास्थ्य अवस्था सुधारोन्मुख नै छ ।

‘श्वास प्रश्वासमा समस्या, खोकी, खकारमा रगत देखिएर अस्पतालमा शुक्रबार अस्पतालमा भर्ना हुनुभएको हो । सिटी स्क्यान गरेर हेर्दा दुवै फोक्सोमा निमोनियाको संक्रमण थियो । शरीरमा अक्सिजनको पनि कमी थियो,’ उनले भने, ‘आउँदा एकदमै सिरियस अवस्थामा भएपनि हामीले आइसोलेटेड गरेर उपचार गर्‍यौं ।

निमोनियामा सुधार भइरहेकै थियो । अक्सिजन नलिई बस्न थाल्नुभएको हो ।’तर पहिलेदेखि नै परिवारका सदस्यले उपचारका लागि काठमाडौं लैजान हेलिकप्टरको बन्दोबस्तीमा लागेका थिए। मेयर यादवको चिनेको डाक्टरसँगको समन्वयमा हेलिकप्टरबाट मेडिसिटीमा लगेको डाक्टर कुर्मीले बताए ।विविध कारणले वीरगञ्जमा दोहोर्‍याएर कोरोना जाँच गर्न नपाएपनि मेयर यादवमा कोरोनासँग मिल्दो जुल्दो लक्षण नै देखिएको उनको भनाइ छ ।