६५ अंकको ‘उच्छल’पछि नयाँ उचाइमा नेप्से...

image
मङ्गलबार, माघ २० २०७७

माघ, २० काठमाडौं । साताको तेस्रो कारोबार दिने मंगलबार सेयरबजारमा उच्छल देखिएको छ । बजार परिसूचक नेप्से करिब पौने ३ प्रतिशतले वृद्धि हुँदा नेप्सेले नयाँ ‘अल टाइम हाई’ रेकर्ड कायम गरेको छ भने इन्ट्रा–डे कारोबारमा पनि नयाँ रेकर्ड बनाएको छ ।

मंगलबार नेप्से ६५.४९ अंक (२.७२ प्रतिशत) ले वृद्धि हुँदा २४७३.७३ अंकमा बन्द भएको छ । साताको पहिलो दिन ५४ अंकको गिरावटपछि दोस्रो दिन हिजो सोमबार ३७ अंक र आज ६५ अंकको उच्छल देखिएको हो ।

नेप्सेले अल टाई हाइ रेकर्ड बनाउँदा इन्ट्रा–डे कारोबारमा पनि पनि नयाँ उचाइ बनाएको छ । यसअघि, इन्ट्रा–डे कारोबार यही माघ १३ गते २४६३.४८ अंकसम्म पुगेको नेप्सेले आज उक्त रेकर्ड तोडेर २४७४.०१ अंकसम्म पुगेको थियो । आज २४३४.४८ अंकमा ओपनिङ भएकोमा २४२९.३८ अंकको तल्लो विन्दु कायम गरेको थियो ।

नेप्सेमा उच्छल देखिँदा बजारमा साढे आठ अर्बमाथिको कारोबार भएको छ । ७४ हजानर ७१५ वटा कारोबारमा २०० कम्पनीको एक करोड ५३ लाख २५ हजार ६२३ कित्ता सेयर किनबेच हुँदा आठ अर्ब ५९ करोड ३४ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा उच्छल देखिए पनि आज होटेल समूहको सूचक भने घटेको छ । त्यसबाहेक सबै समूहको सूचकमा हरियाली देखिँदा निर्जीवन बिमा अन्य समूहको सूचकले बजारमा उच्छल आएको हो । निर्जीवन बिमाको सूचक ५.०४ वृद्धि हुँदा अन्य समूहको सूचक ४.०७ प्रतिशतले बढेको छ ।

यस्तै, लघुवित्तको सूचक ३.८ प्रतिशत, जीवन बिमाको सूचक ३.३५ प्रतिशत र बजारमा सबैभन्दा ठूलो हिस्सा रहेको बैंकिङ सूचक १.९९ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा हरियाली छाउँदा नेपाल पुनर्बिमा कम्पनी र ग्लोबल आईएमई बैंकको आधा अर्बमाथिको कारोबार भएको छ । नेपाल पुनर्बिमा कम्पनीको ५८ करोड ५६ लाख ९९ हजार र ग्लोबल आईएमई बैंकको ५३ करोड ६३ लाख ४९ हजारको कारोबार भएको छ ।

सेयरबजारमा उच्छल आउँदा १६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा ५२ प्रतिशत लाभांश घोषणा गरेको जनउत्थान सामुदायिक लघुवित्तका साथै प्रभु लाइफ, रिलायन्स लाइफ, युनाइटेड इन्स्योरेन्स, सपोर्ट माइक्रोफाइनान्स, गुरास लघुवित्त, अजोड इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, माउन्टेन इनर्जी, प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, मल्टिपर्पस फाइनान्स, ग्लोबल आईएमई बैंक, एभरेस्ट इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स रहेका छन् । गुमाउनेमा भने ओरियन्टल होटेल र सोल्टी होटेललगायतका लगानीकर्ता रहेका छन् ।