मैत्रीपूर्ण खेलमा आर्मीद्वारा चिउरीबगैंचा ३-० ले पराजित

image
सोमबार, फागुन १६ २०७८

मकवानपुर,१६ माघ/ मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. २ भैंसे मा अवस्थित नेपाली सेनाको श्री काली प्रसाद गण (ई) ले चिउरी बगैंचा युवा क्लबलाई सोमबार भएको फुटबल खेलमा ३-० कोअन्तरले पराजित गर्दै विजयी हासिल गरिएको छ । नेपाली सेनाको सेना दिवस अवसर पारेर  जनभावना सहितको मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरिएको हो । 

निकै रोमाञ्चक रहेको खेलमा ४९ ओैं मिनेटमा चिउरी बगैंचा युवा क्लबका जर्सी नं. ३ का खेलाडी विष्णु मण्डल सामान्य घाइते भएपछि अर्का खेलाडीलाई मैदानमा प्रवेश गराईएको थियो । खेलमा आर्मीको तर्फबाट गोल गर्ने प्रयासहरू विपक्षी टिमका क्याप्टेन तथा गोलक रक्षक निशान अस्लामी मगरले धेरै पटक बचाएता पनि खेलको ६७ ओैं मिनेटमा चिउरीबगैंचा युवा क्लबका डिभेन्डरलाई छलाउँदै आर्मीका तर्फबाट जर्सी नं. ८ का भुपिलाल गुरूङले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो भने ७०ओैं मिनेटमा जर्सी नं. १४ का अनिन्द्र शाहीले गोल गर्दा टिममा खुसीयाली छाएको थियो । चिउरीबगैंचा युवा क्लबका खेलाडीहरूले निकै गोल गर्ने प्रयास गरेता पनि आर्मीका गोलरक्षक जर्सी नं. १ का आयुष मिजारले गोल हुनबाट बचाउनुभएको थियो ।

खेलको अन्तिम समयमा फेरि पनि आर्मीका तर्फबाट जर्सी नं. ८ का खेलाडी गुरूङले अर्को गोल गर्दै टिमलाई विजयी गराउनु भएको थियो । खेलमा निकै अफसाईडहरू भएता पनि निकै संयतापूर्वक खेल सम्पन्न भएको थियो । 

"खेल निकै रमाइलो भएसँगै स्थानीय युवाहरूसँग मैत्रीपूर्ण खेल खेल्न पाउँदा खुसी लागेको", गणका प्रमुख सेनानी तथा कार्यक्रमका प्रमुख अतिथि सन्तोष गुरूङले बताउनुभयो ।

खेलमा विजेता आर्मी टिमलाई प्रमुख अतिथि गुरूङले पुरस्कार स्वरूप भाले प्रदान गर्नुभएको थियो भने उपविजेता युवा क्लबका कोच विशाल थापालाई पनि पुरस्कार स्वरूप प्रमाणपत्रसहित कुखुरा प्रदान गर्नुभएको थियो ।

खेल गणका प्रमुख सेनानी सन्तोष गुरूङको प्रमुख आतिथ्यतामा भएको थियो । 

साथै सेना दिवसकै अवसर पारेर गणले सोमबार नै भिमफेदी गाउँपालिका वडा नं. १ मा अवस्थित श्री त्रिखण्डेश्वर महादेव मन्दिर, वडा नं. २ मा अवस्थित श्री कृष्ण मन्दिर, वडा नं. ४ मा अवस्थित श्री गुप्तेश्वर महादेवको मन्दिर सरसफाइ कार्यक्रम समेत गरिएको थियो । सेना दिवसकै अवसर पारेर गणले विभिन्न खेलको आयोजना गरिएको थियो ।